काठमाडौँ, भदौ २४ गते । प्रतिनिधिसभाको आजको बैठकमा सांसद प्रेमबहादुर महर्जनले जनताको जनधनको संरक्षण गर्ने दायित्व राज्यको रहेको भन्दै नदी किनारामा बस्दै आएका काठमाडौँवासीको संरक्षण गर्न सरकारलाई ध्यानाकर्षण गराउनुभयो ।

आजको बैठकको विशेष समयमा सांसद महर्जनले भाडा उठाएर जीविकोपार्जन गर्ने काठमाडौँवासीको कमजोर आर्थिक स्थितिप्रति सरकार संवेदनशील हुनुपर्नेमा जोड दिनुभयो । 

सांसद गणेश पराजुलीले नेपाली काङ्ग्रेसका उपसभापति एवं पूर्वमन्त्री धनराज गुरुङ सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै निष्पक्ष छानबिनका लागि सरकारसँग माग गर्नुभयो । उहाँले सामाजिक सञ्जालमा सरकारको गतिविधि गरेको आधारमा नागरिकलाई पक्राउ गर्न नहुने धारणा राख्नुभयो । सांसद पराजुलीले एपीवान टेलिभिजनमा जेबी राईको लगानीबारे पनि निष्पक्ष छानबिन हुनुपर्ने माग गर्नुभयो । उहाँले नागरिकताको अधिकारबाट वञ्चित हुनु परेकाबारे ध्यानाकर्षण गराउनुभयो । 

सांसद रोशन कार्कीले बागमती र सहायक नदीमा विगतमा निर्धारित मापदण्डमा दायाँबायाँ न्यूनतम अर्को थप २० मिटर क्षेत्र खाली गर्ने, निर्माण निषेधित क्षेत्र तोक्ने सर्वोच्च अदालतको फैसलामाथि पुनरावलोकनमा ढिलाइ गर्न नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “यस फैसलाले हजारौँ जनताको भविष्य डुबानमा पर्छ । छिट्टै पुनरावलोकन हुनुपर्छ ।”