डडेल्धुरा, भदौ २४ गते । नेपाली काङ्ग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले मुलुकमा स्थिरता कायम गर्न संसद्का दुई ठूला दलबीच गठबन्धन भएको बताउनुभएको छ । आज नेपाल प्रेस युनियन डडेल्धुराले जिल्ला सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वअर्थमन्त्रीसमेत रहनुभएका उहाँले मुलुकलाई अस्थिरताबाट जोगाउन काङ्ग्रेस–एमालेबीच सहकार्य भएको उल्लेख गर्नुभयो ।

“पछिल्लो समय पटक–पटक सत्ता परिवर्तन भए पनि विकासले गति लिन नसकेपछि संसद्का दुई ठूला दलबीच सहकार्य भएको हो । यसबाट मुलुकमा स्थिरता कायम हुनुका साथै जनतामा आशा उब्जिएको छ”, प्रवक्ता महतले भन्नुभयो, “अस्थिरताबाट देशलाई जोगाउन एमाले र काङ्ग्रेस एक ठाउँमा उभिएका हुन् ।” उहाँले काङ्ग्रेस–एमालेको गठबन्धन सरकारले मुलुकलाई स्थिरतातर्फ लैजाने दाबी गर्नुभयो ।

नयाँ सरकार गठन पछि विस्तारै मुलुकको आर्थिक गतिविधि चलयायमान हुँदै गएको प्रवक्त महतले बताउनुभयो । सरकारको न्यूनतम साझा कार्यक्रम यथाशीघ्र प्रकाशित गर्ने उहाँको भनाइ छ ।

पूर्वअर्थमन्त्री महतले वर्तमान सरकार जनताका सरोकारका विषयवस्तु र सुशासन प्रत्याभूत गराउनमा केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । उहाँले नेपाली काङ्ग्रेसले २०८४ को निर्वाचनमा एक्लै बहुमत ल्याउने गरी सङ्गठन निर्माणमा लागेको उल्लेख गर्नुभयो ।

प्रवक्ता महतले एक सय ११औँ बिपी जयन्तीका अवसरमा डडेल्धुरामा आयोजित ‘मुलुकको समृद्धिमा युवाको भूमिका’ विषयक प्रशिक्षण कार्यक्रमको आजै उद्घाटन गर्नुभएको छ । उक्त कार्यक्रममा उहाँले पश्चिम सेती र पञ्चेश्वर परियोजना निर्माण गर्न सरकार लागिपरेको उल्लेख गर्दै यी परियोजना निर्माणले सुदूरपश्चिममा रोजगारीका अवसर सिर्जना गर्ने बताउनुभयो ।