फाइल तस्वीर
काठमाडौँ, भदौ २४ गते । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा आजदेखि सेवा निवृत्त हुनुभएको छ । प्रधानसेनापति शर्मा आज सोमबारदेखि अवकाश भएपछि अशोकराज सिग्देल प्रधानसेनापति बन्नुभएको छ ।

नेपाली सेनाका परमाधिपति समेत रहनुभएका राष्ट्रपति रामचन्द्र पौडेलले आज सिग्देललाई प्रधानसेनापतिको दर्ज्यानी चिह्न लगाइदिनुभएपछि नयाँ प्रधानसेनापति भएर सिग्देल सैनिक मुख्यालय जङ्गी अड्डामा पुगेर आफ्नो जिम्मेवारी ग्रहण गर्नुहुने छ । नयाँ प्रधानसेनापति सिग्देल नेपाली सेनाको ४५ औं प्रधानसेनापति बन्नुभएको छ ।

नेपाली सेनाका परमाधिपति एवम् राष्ट्रपति रामचन्द्र पौडेलले सिग्देललाई आज भदौ २४ गतेदेखि लागूहुने गरी भदौ १२ गते नै प्रधानसेनापतिमा नियुक्त गर्नुभएको थियो । सेवा निवृत्त हुनु एक महिना अघिदेखि नै विदामा बस्ने प्रचलन अनुसार निवर्तमान प्रधानसेनापति शर्मा गता साउन २४ गतेदेखि नै विदामा बस्ने भएको थियो । त्यसपछि सिग्देलले कायम मुकायम प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्नुभएको थियो ।

नेपाली सेना जङ्गी अड्डाले आज साँझ निर्वतमान प्रधानसेनापति शर्मा बिधाई नयाँ प्रधानसेनापति सिग्देललाई बधाई र शुभकामना दिने कार्यक्रमको आयोजना गर्ने भएको छ ।