फाइल तस्वीरः प्रधानमन्त्री केपी शर्मा ओली र काङ्ग्रेस सभापति शेरबहादुर देउवा ।
काठमाडौँ, भदौ २४ गते । गठबन्धन बनेको दुई महिना पछि सत्तासाझेदार दलहरूको बैठक बस्दैछ । बैठक आज सोमबार ४ बजे बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बस्ने भएको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको लामो समयपश्चात् बस्न लागेको गठबन्धन दलहरुको बैठकले सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम बनाउने विषयमा छलफल हुने बताइएको छ । साथै सरकारकार गठन भएको दुई महिनाको अवधिमा सरकार र तत् तत् मन्त्रालयका मन्त्रीहरुले काम कारवाही र सर्भिस डेलिभरीका विषयमा पनि छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

हिजो आइतबार एमाले अध्यक्ष एवम् प्रधानमन्त्री ओली, सत्ता साझेदारको मुख्य ठूलो दल नेपाली काङ्ग्रेसका सभापति देउवालगायतका दुवै दलका केही नेताहरुको उपस्थितिमा सत्ता साझेदार दलहरुको बैठक बोलाउने विषयमा छलफल भएको थियो । आज अपरान्ह्रमा बस्ने बैठकले सरकारका न्यूनतम साझा कार्यक्रम तय गर्न कार्यदल गठन गर्ने बताइएको छ ।

हिजोको बैठकमा प्रधानमन्त्री ओलीसहित एमालेबाट अर्थमन्त्रीसमेत रहेका एमाले उपाध्यक्ष विष्णु पौडेल, पार्टी महासचिव शङ्कर पोखरेल हुनुहुन्थ्यो भने काङग्रेसका सभापति देउवा, देउवाका विश्वास पात्र एवम् गृह मन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री एवम् देउवा पत्नी आरजु राणा देउवाको सहभागिता रहेको थियो ।

गत असार १७ गते मध्यरातमा काङ्ग्रेस र एमालेबीच सत्ताको नयाँ समीकरण बनेपछि एमाले अध्यक्ष एवम् सो पार्टीको संसदीय दलका नेता केपी ओलीको नेतृत्वमा असार ३१ गते नयाँ गठबन्धनको सरकार बनेको थियो । उक्त गठबन्धनमा अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी र रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी सम्लग्न छन् । यद्यपि, ओली नेतृत्वको सरकारलाई जसपा नेपाल र जनमत पार्टीको समेत समर्थन छ ।

हिजो आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सरकारका मुख्य दुई घटकका नेताहरुबीच भएको छलफलमा सरकारका न्यूनतम साझा कार्यक्रम बनाउन चार सदस्यीय कार्यदल बनाउने एक खालको सहमति भएको छ । कार्यदलमा एमाले र काङ्ग्रेसबाट दुई/दुई जना राखेर न्यूनतम साझा कार्यक्रम बनाउने र कार्यदलले बनाएको कार्यक्रममाथि छलफल गरी त्यसलाई अन्तिम रुप दिने बताइएको छ ।