फाइल तस्वीरः पार्टी अध्यक्ष महन्थ ठाकुर ।
काठमाडौँ, भदौ २१ गते ।
लोकतान्त्रिक समाजवादी पार्टी (लासपा)ले पार्टीको पहिलो अधिवेशन गर्ने निर्णय गरेको छ । दुई दिनसम्म चलेको पार्टी पदाधिकारी बैठकले आगामी २०८२ को वैशाख २६ गते पार्टीको पहिलो अधिवेशन गर्ने निर्णय हो ।

पदाधिकारी बैठकले महाधिवेशनको मिति तोकिसकेपछि विद्यमान केन्द्रीय समितिलाई महाधिवेशन तयारी मूल समितिमा परिणत गर्ने निर्णय पनि गरेको छ । जनता समाजवादी पार्टी नेपालबाट अलग भएर महन्थ ठाकुरको नेतृत्वमा तीन वर्षअघि गठन भएको लोसपा पुनः विभाजन भई राजेन्द्र महतोसहितका नेताहरु बाहिरिनुभएको छ । शक्ति क्षयीकरणको चपेटामा परेको लोसपाको आन्तरिम विधान अनुसार पाँच वर्षभित्र महाधिवेशन गरिसक्नु पर्नेछ । सोही विधान अनुसार आउने वैशाखमा महाधिवेशनको मिति तय भएको लोसपाले जनाएको छ ।

महाधिवेशन हुनु पूर्व पार्टीका सबै समितिहरुको अधिवेशन सम्पन्न गरिसक्ने निर्णय भएको पदाधिकारीको बैठकले आगामी कात्तिक मसान्तसम्म सदस्यता वितरणका काम सक्ने र चैत मसान्तभित्र वडादेखि प्रदेशसम्मका सम्पूर्ण समितिको साधारणसभा गरिसक्नुपर्ने बैठकले निर्णय समेत गरेको छ । बैठकले पार्टीका विभाग, भातृ सङ्गठन र समितिहरुलाई पूर्णता दिइने समेत निर्णय गरेको छ ।

यसैबीच लोसपाले संविधान संशोधनको लागि विगतमा उठाइएका मधेसका सबै मुद्दाहरूको सङ्कलन गर्दै मधेसी, थारु र अन्य उत्पीडित जनताको अधिकार कायम गराउन सरोकारवाला सबै दलसँग सहकार्यको अपिल गरेको छ । संविधान संशोधनबारे अध्ययन गर्न वरिष्ठ उपाध्यक्ष लक्ष्मण लाल कर्णको संयोजकत्वमा गठित तीन सदस्यीय कार्यदलको सदस्यमा द्वयनेता दानबहादुर विश्वकर्मा र परमेश्वर साहलाई मनोनयन गरेको लोसपाले जनाएको छ ।