फाइल तस्वीर मन्त्रिपरिषद्को बैठक
काठमाडौँ, भदौ २१ गते । प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका जानुहुने भएको छ । भदौ २५ गतेदेखि सुरुहुने संयुक्त राष्ट्रसङ्घको महासभाको बैठकमा भागलिन अमेरिका जान लाग्नुभएको हो ।

मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न अमेरिका भ्रमणलाई स्वीकृत गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा हिजो बिहीबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्रीको भ्रमण स्वीकृत गर्ने निर्णय गरेको हो ।

संयुक्त राष्ट्रसङ्घको महासभा भदौ २५ देखि असोज १२ गतेसम्म अमेरिकाको न्युयोर्कमा हुँदैछ । प्रधानमन्त्री ओलीले महासभाको बैठक अन्तर्गत असोज ६ र ७ गते हुने ‘समिट अफ द फ्युचर’लाई सम्बोधन गर्नु हुने कार्यक्रम रहेको छ । प्रधानमन्त्रीसहित भ्रमण दलमा परराष्ट्रमन्त्री डा. आरजु राणालगायत सहभागी हुनुहुने बताइएको छ ।

हिजो बसेको मन्त्रिपरिषद्को बैठकले रेडियो नेपालको कार्यकारी निर्देशकमा अमरध्वज लामालाई नियुक्त गर्ने निर्णय गरेको छ । रेडियो नेपालमा २५ वर्ष सेवाअवधि पूरा गरेर स्वैच्छिक अवकाश लिनुभएका लामालाई सोही रेडियोको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यसैगरी सरकारले आर्थिक वर्ष २०८१/८२ सालमा दुग्ध विकास संस्थानको व्यवस्थापन र कच्चा दुध प्रशोधनलाई आधुनिकीकरण गर्नुका साथै किसानलाई भुक्तानी दिन बाँकी रकम उपलब्ध गराउन अर्थ मन्त्रालयमार्फत् ६० करोड रुकम ऋृण उपलब्ध गराउने निर्णय गरेको छ । अर्थ मन्त्रालयले उक्त ऋृण सर्तसहित दिन भदौ १७ गते सहमति दिए थियो । अर्थको सहमति पछि हिजो बसेको मन्त्रिपरिषद्को बैठकले ऋण दिने प्रस्ताव स्वीकृत गरेको हो ।

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले दुग्ध किसानको बक्यौता रकम दसैँअघि नै भुक्तानी गर्ने पहल गर्नुभएको थियो । हाल दुग्ध किसानको एक अर्ब ५४ करोड रकम बक्यौता छ । सरकारले अर्थमन्त्रालयमार्फत् उपलब्ध गराएको ६० करोड रुपैयाँ अझै अपुग हुने देखिन्छ ।

चालु आर्थिक वर्ष २०८१/८२ का लागि दुग्ध विकास संस्थानका नाममा ऋृण लगानी अन्तर्गत एक करोड रुपियाँ बजेट व्यवस्था भएकोमा कृषि मन्त्रालयमा विनियोजित रकमबाट थप ५९ करोड रुपियाँ रकमान्तर गरी कुल ६० करोड रुपियाँ ऋृण उपलब्ध गर्न लागेको हो ।

यसैगरी बैठकले पेरिस पारालिम्पिक २०२४ मा नेपाललाई काँस्य पदक जिताउन सफल खेलाडी पलेशा गोवर्धनलाई ६५ लाख रुपैयाँ नगद पुरस्कार दिने निर्णय गरेको छ । खेलाडीसहित प्रशिक्षकलाई पाँच लाख ८५ हजार रुपियाँ र टिम व्यवस्थापनका लागि दुई लाख ९२ हजार रुपियाँसहित सम्मान प्रदान गर्ने निर्णयसमेत गरेको छ ।