फाइल तस्वीर एमालेका महासचिव शङ्करपोखरेल ।
वीरेन्द्रनगर, भदौ २० गते । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी एमालेका महासचिव शङ्कर पोखरेलले प्रमुख प्रतिपक्षी दलका नेता एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशलाई श्रीलङ्का र बङ्गलादेशको बाटोमा डोर्‍याउने अलोकतान्त्रिक अभिव्यक्ति दिएको भन्दै आपत्ति प्रकट गर्नुभएको छ । एमाले कर्णाली प्रदेशको सचिवालय बैठकलाई सम्बोधन गर्न आज बिहीबार सुर्खेत पुगेका एमाले महासचिव पोखरेलले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डप्रति यस्तो आरोप लगाउनुभएको हो ।

सुर्खेत विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै एमाले महासचिव पोखरेलले सत्ताबाहिर पुगेपछि माकेका अध्यक्ष प्रचण्डले असंसदीय र अराजनीतिक अभिव्यक्ति दिएको भन्दै पूर्वप्रधानमन्त्रीबाटै अतिवादी दृष्टिकोणले अनेक खालको अस्थिरता मच्चाउने काम भइरहेको जिकिर गर्नुभयो ।

पूर्व प्रधानमन्त्रीसमेत भइसक्नुभएका प्रतिपक्ष दलका नेताले संवेदनशीलता र संसदीय मर्यादाको ख्यालसमेत नगरी असंसदीय र अराजनीतिक अभिव्यक्ति दिंदा मुलुकको राजनीतिमा एक खालको तनाव सिर्जना भएको एमाले महासचिव पोखरेलले बताउनुभयो ।

देशमा दुई दलीय व्यवस्था नभई फरक विचारका दुई ठूला दल भए पुग्छ भन्ने आफ्नो दृष्टिकोण रहेको बताउँदै एमाले महासचिव पोखरेलले ‘मुलुकको स्थायित्व र विकासका लागि दुई दल भए पुग्छ’ — भन्नुभयो । पत्रकारहरुसँग कुराकानीका सन्दर्भमा महासचिव पोखरेलले संसदको जननी मानिने मुलुक बेलायतका साथै अमेरिकामा सयौं वर्षदेखि दुई दलबीच मात्रै प्रतिस्पर्धा भइरहेको उदाहरण पेश गर्नुभएको थियो । एमाले महासचिव पोखरेलको भनाइको आसय नेपालमा पनि काङ्ग्रेस र एमाले जस्तो पार्टीमात्रै भए पुग्छ भन्ने हो ।

महासचिव पोखरेलले आगामी २०८४ सालमा हुने संसदीय निर्वाचनमा एमाले मुलुककै बलियो शक्तिका रूपमा स्थापित हुने दावी गर्दै सरकार निराशालाई चिर्न तयार हुनुपर्नेमा जोड दिनुभएको थियो ।

एमाले महासचिव पोखरेलले नेपालको मौलिक संस्कृतिमाथि निरन्तर अतिक्रमण भइरहेको उल्लेख गर्दै ‘यो देशकै लागि सबैभन्दा ठुलो चुनौतीको विषय बन्दै छ’— भन्नुभयो ।