तस्वीरमा द्वन्द्व पीडितसँग प्रधानमन्त्री केपी शर्मा ओली ।
काठमाडौँ, भदौ २० गते । दश वर्षे सशस्त्र युद्धका क्रममा पीडित भएकाहरुको सङ्गठन द्वन्द्वपीडित सङ्घले सङ्क्रमणकालीन न्यायसम्बन्धी आयोग गठन र पदाधिकारी नियुक्ति गर्दा पीडितको भावनालाई समेट्न आग्रह गरेका छन् । उनीहरुले आज बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर आग्रह गरेका हुन् ।

प्रधानमन्त्री निवास, बालुवाटार पुगेर सोसम्बन्धमा प्रधानमन्त्री ओलीलाई पत्रमार्फत् ध्यानाकर्षण गराउँदै सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग गठन गर्दा राजनीतिक आधारमा नभई पीडितका भावनालाई निष्पक्षरुपमा प्राथमिकता दिन सक्ने व्यक्तिलाई आयोगमा राख्नुपर्नेमा जोड दिएका छन् ।

सो सम्बन्धी (टिआरसी) विधेयक संसद्बाट पारित भई यही भदौ १५ गते राष्ट्रपतिबाट प्रमाणीकरणसमेत भइसकेको छ । सरकारले छिट्टै आयोगमा सदस्यहरु चयन गरेर कामलाई अघि बढाउने भएको छ ।

द्वन्द्वपीडित सङ्घकी अध्यक्ष हिमाकुमारी घर्तीको नेतृत्वमा प्रधानमन्त्रीलाई भेट्न पुगेको प्रतिनिधिमण्डले ज्ञापनपत्रमा २०६३ सालमा अन्तरिम राहतका लागि सरकारबाट घोषणा गरिएको प्रतिपीडित सात लाख ५० हजार रुपैयाँमध्ये एक लाख ५० हजार रुपैयाँका दरले मात्रै रकम प्राप्त भएको जानकारी गराउँदै सरकारले दिन बाँकी रहेको रकम तत्काल उपलब्ध गराइदिन समेत अनुरोध गरेको छ ।