तस्वीरमा प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्ड र प्रतिनिधिमण्डल ।
काठमाडौं, भदौ २० गते । पूर्वप्रधानमन्त्री एवम् प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौंको नदी किनाराका जग्गाका सम्बन्धमा देखिएको समस्या सम्बन्धी पार्टीको धारणा केन्द्रीय समितिको बैठकपछि तय गर्ने बताउनुभएको छ ।

नदी किनाराका जग्गाका सम्बन्धमा देखिएको समस्या समधानका लागि पहलको आग्रहसहित भेटघाटका लागि आएको सर्वदलीय प्रतिनिधिमण्डलसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री दाहालले यस्तो धारणा राख्नुभएको हो ।

सो अवसरमा प्रमुख प्रतिपक्षी दलका नेता दाहालले यो निर्णय कार्यान्वयनमा समस्या देखिएकाले सरकार अदालतमा भ्याकेटमा जाँदा ठिकै हुने उल्लेख गर्दै यसबारे पार्टीको धारणा बैठकपछि नै तय हुने बताउनुभयो ।

सर्वदलीय भेटमा सहभागीहरुले नदी किनाराका जग्गा छाड्नुपर्ने अदालतको फैसलापछि काठमाडौंमा ठूलो समस्या सुरु भएको बताएका थिए । अदालतको आदेशअनुसार काठमाडौंको नदी, खोला र राजकुलो समेत दायाँबायाँ २०÷२० मिटर छाड्नुपर्दा दशौं हजार घरपरिवार विस्थापित हुने र पशुपति नाथ मन्दिर पनि सार्नुपर्ने अवस्था आउने भन्दै माकेका अध्यक्ष दाहाललाई जानकारी गराउनुभएको थियो ।

काठमाडौं महानगरपालिका प्रमुखले कार्यान्वयन गर्ने एकल निर्णय गरेपछि थप समस्या आएको भन्दै उहाँहरुले यो फैसला कार्यान्वयन भएमा आर्थिक रूपमा अराजकता पैदा हुने जानकारी गराउनुभयो ।

आफूहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेट गरेर सर्वोच्चले गरेको निर्णयलाई पुनरावलोकन गर्न भ्याकेटमा जान सुझाव दिएको र नेपाली काङ्ग्रेस सभापति शेरबहादुर देउवासँग भेट गरिसकेको प्रतिनिधिमण्डलले प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डलाई जानकारी गराएको थियो ।

प्रतिनिधिमण्डलका सदस्यहरुले प्रमुख प्रतिपक्ष दलका नेता र माकेका पार्टी अध्यक्षको रुपमा प्रचण्डलाई भेट्न आएको उल्लेख गर्दै प्रतिनिधिमण्डलमा नेकपा एमालेका नेता राजन भट्टराई, काठमाडौं महानगरपालिकामा पूर्वप्रमुख विद्यासुन्दर शाक्यलगायतको सहभागिता थियो ।