फाइल तस्वीर

काठमाडौँ, भदौ २० गते । सङ्घीय संसद्मा प्रतिनिधिसभा अन्तर्गतका चारवटा संसदीय समितिको बैठक आज बस्दै छ । आज अर्थ समिति, राज्य व्यवस्था तथा सुशासन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्ने भएको हो ।

संसद् सचिवालयका अनुसार अर्थ समितिको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० मा दफावार छलफल हुनेछ ।

त्यसैगरी, राज्य व्यवस्था तथा सुशासन समितिको बैठक पनि बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्वन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

त्यसैगरी, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा समितिको पाँचौ वार्षिक प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची रहेको छ ।

त्यसैगरी, विधायन व्यवस्थापन समितिको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।