फाइल तस्वीर
काठमाडौँ, भदौ १९ गते ।
प्रतिनिधिसभाको सबैभन्दा ठुलो एवम् सत्तासाझेदार दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले बहुदलीय प्रजातन्त्रिक प्रणाली र गणतान्त्रिक व्यवस्थाको सम्बन्धमा नेपाली काङग्रेस र नेकपा एमालेबीच कुनै मतभेद नरहेको दावी गर्नुभएको छ । आज बुधबार काठमाडौँमा आयोजित नेपाल निजामति कर्मचारी युनियनको स्थापना दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै काङ्ग्रेस सभापति देउवाले यस्तो दावी गर्नुभएको हो ।

पूर्वप्रधानमन्त्री देउवाले प्रजातन्त्र र गणतन्त्रको रक्षाका लागि काङ्ग्रेस र एमोलबीच कुनै मतभेद नरहेको उल्लेख गर्दै ‘बहुदलीय प्रजातन्त्रिक प्रणाली र गणतान्त्रिक व्यवस्थाको सम्बन्धमा काङग्रेस र एमालेबीच कुनै मतभेद छैन’ भन्नुभयो । सो अवसरमा सभापति देउवाले ‘ खास खास कुरामा हाम्रो एउटै धारणा भएको हामी दुवै पार्टीबीच त्यस्तो कुनै विवाद छैन’ भन्नुभयो ।

यति रहँदा रहँदै पनि काङ्ग्रेस र एमाले दुवै एकअर्काका मुख्य प्रतिस्पर्धी हौँ । हामीबीच कतिपयकुरा समस्या हुन सक्छन्, त्यो बेग्लै कुरा हो । अहिलेको सहकार्य आवश्यकताले सिर्जना गरेको सभापति देउवाको भनाइ थियो ।

मुलुकमा उत्पन्न गतिरोधको अन्त्य गर्नु नै आफूहरूको कर्तव्य भएको देउवा बतायँदै सभापति देउवाले ‘मलाई विश्वास छ, ओलीजी र मैले मिलेर, अरु साथीहरूले मिलेर पनि अहिले प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्थालाई अझ बढी स्थायी गराउनुपर्छ,’ भन्नुभयो ।

सो अवसरमा सभापति देउवाले निजामती कर्मचारीहरुले यसबारेमा कुनै चिन्ता नलिइकन सरकारले गरेका निर्णयहरूको कार्यान्वयन गर्न निर्देशन समेत दिनुभएको थियो ।