तस्वीरमा पेरिस पारा ओलम्पिक २०२४ मा काँस्य पदक विजेता पलेशा गोवर्धनलाई त्रिभुवन विमानस्थलमा गरियो भव्य स्वागत ।

काठमाडौँ, भदौ १९ गते । पेरिसमा आयोजित पारा ओलम्पिक २०२४ मा नेपाललाई काँस्य पदक दिलाउन सफल पलेशा गोवर्धनलाई स्वदेश फर्किनेक्रममा त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको छ । आज बुधबार बिहान त्रिभुवन विमानस्थलमा पारा ओलम्पिकमा काँस्य पदक विजेता गोवर्धनलाई राष्ट्रिय खेलकुद परिषद्का उच्च अधिकारी, पलेशाका समर्थक, खेलकुदप्रेमीलगायतले स्वागत गर्नुभएको हो ।

पलेशाले पेरिस पारालिम्पिक्समा तेक्वान्दोको के ४४ विधाअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा सर्वियाकी खेलाडीलाई पराजित गर्नुहुँदै काँस्य पदक जित्नुभएको थियो ।

पारालिम्पिक्समा नेपाललाई ऐतिहासिक पदक जिताउन सफल गोवर्धनलाई विमानस्थलबाट विशेष स्वागत गर्दै नगर परिक्रमा समेत गरिएको थियो । नेपालले अहिलेसम्म पारालिम्पिक्समा पदक जितेको यो नै पहिलो हो ।