फाइल तस्वीर ।
काठमाडौँ, भदौ १९ गते । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)को पोलिटब्युरो बैठक आज पनि बस्ने भएको छ । ललितपुरको बालकुमारीस्थित च्यासलमा अवस्थित पार्टी केन्द्रीय कार्यालयमा आज दिउँसोको बैठक बस्ने भएको हो ।

एमालेले आगामी २०८४ को निर्वाचनलाई लक्षित गरी बहुमत ल्याउने रणनीति तयार गर्न पार्टी र केन्द्रदेखि स्थानीय तहसम्मका नेताहरुलाई चलायमान बनाउने कार्ययोजना तयार गर्न छलफललाई अघि बढाएको छ । आगामी निर्वाचनमा एमालेले कुनै राजनीतिक दलसँग चुनावी गठबन्धन नगरी एक्लै निर्वाचन लड्न मिसन २०८४ अभियान चलाउने भएको छ ।

आज बस्ने पोलिटब्युरोको बैठकमा नेताहरुलाई तीन मिनेटको समय दिएर पार्टीले तयार गरेको एक वर्षे कार्ययोजनामाथि आ–आफ्नो धारणा राख्न दिने र प्राप्त सुझावहरुलाई समेट्ने बताइएको छ । हिजो मङ्गलबारदेखि सुरुभएको पोलिटब्युरो बैठकमा पार्टी महासचिव शङ्कर पोखरेलले २३ पेज लामो कार्ययोजनाको प्रस्ताव पेश गर्नुभएको र सोही प्रस्तावमाथि आज नेताहरूलाई आ–आफ्नो धारणा राख्न समय उपलब्ध गराइने भएको छ ।

एमालेले नेताहरुलाई लिखित रुपमा पनि आफ्नो धारणा पेश गर्न सकिने लचकता दिएको छ । तीन मिनेटको समयसीमा भित्र रहेर सुझाव र धारणा दिन नभ्याएको अवस्थामा लिखित रुपमा पेश गर्ने वातावरण मिलाएको एमालेले जनाएको छ ।