काठमाडौँ, भदौ १८ गते । नेपाली काङ्ग्रेसका सांसद डा.चन्द्रकान्त भण्डारीले अर्थशास्त्रको नियम नबुझ्दा विकास निर्माणका काम ठप्प भएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उहाँले विकास जनताको सहजता र समृद्धिका साथै दिगो तथा अर्थशास्त्रको नियमानुसार हुनुपर्नेमा जोड दिनुभयो । “विकास निर्माणका लागि इच्छाशक्ति र विज्ञता चाहिन्छ तर नेपालमा त्यस्तो हुनसकेको छैन”, उहाँले भन्नुभयो, “यसबाट नेपाली राजनीति सच्चिन जरुरी छ । अब सरकार बनाउनेमा होइन, देश विकासमा ध्यान दिन आवश्यक छ ।”

सांसद भण्डारीले समयमा सडक नबन्दा नागरिकले सस्ती भोगिरहनुपरेको तर्फ ध्यानाकर्षण गराउनुहुँदै जनताले भोग्ने हरेक समस्यामा सरोकार भएकाहरू ध्यान जान जरुरी रहेकामा जोड दिनुभयो । उहाँले जनताको कर तथा पैसा उठाएर चल्न हरेक निकाय जवाफदेही हुनुपर्ने बताउनुभयो । “एनसेलले जनताबाट पैसा उठाएको छ, त्यो पैसा सरकारले लिनुपर्दैन ?” सांसद भण्डारीले प्रश्न गर्नुभयो, “बत्ती बालेपछि बिल तिर्नुपर्दैन ? यस विषयमा सभामुखले रुलिङ गर्न जरुरी छ ।”

उहाँले दैनिकजसो विदेशीने नेपालीहरूलाई रोक्नका लागि सरकारले प्राथमिकताका साथ काम गर्न आवश्यक रहेको धारणा राख्नुभयो । सांसद भण्डारीले भन्नुभयो, “सरकार बन्ने र बनाउने विषयमा होइन, मुलुक बनाउने बाटोमा लाग्नुपर्छ, सरकारले भाषण होइन, काम गरेर देखाउनुपर्छ ।” यसैगरी तीजको अवसरमा गरिबी, अभावमा पनि नेपाली महिलाले तीज मनाइरहेको स्मरण गर्नुहुँदै उहाँले तीज गीत गाउने विष्णु माझीलाई धेरै नेपालीले हेर्न चाहेको बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद ईश्वरबहादुर रिजालले सदनबाट समानता, स्वतन्त्रता र निष्पक्षताको सन्देश जानुपर्ने र लोकतन्त्र जनपक्षीय र समानुपातिक विकास भए÷नभएको अध्ययन गर्नुपर्ने बताउनुभयो । उहाँले देश र जनताका लागि राजनीति गर्नुपर्नेमा त्यसो हुन नसकेको धारणा राख्नुभयो । “जनप्रतिनिधिले जनताको पक्षमा काम गर्नुपर्छ, कुनै पार्टी ठूलो र सानो हुदैन । शोखको राजनीतिक मौलाएर गएको छ, दल खोल्ने सांसद हुने, मुलुकमा अस्थिरता खडा हुने स्थिति छ । त्यसैले जनतामा रहेको बेचैनी, अस्थिरता र अराजकता अन्त्य गर्न जरुरी छ ।”

नेकपा (माओवादी केन्द्र) अमनलाल मोदीले मधेश, दलित, महिला, जनजातिको हकहितका लागि आन्दोलन र क्रान्ति भएको हुनाले शान्ति प्रक्रियामा असरपर्ने काम कसैबाट हुन नहुने बताउनुभयो । उहाँले जनयुद्ध लोकतन्त्र र समानताका लागि भएको बताउनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सोविता गौतमले नेपालमा आएका औषधिको गुणस्तरमा समस्या देखिएको र धेरै गर्भवती महिलाले समस्या भोग्नुपरेको बताउनुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालमा महँगी चरम रूपमा बढ्दै गएकाप्रति सरकारको ध्यान जान नसकेको र व्यापारीहरू किन कर तिर्न हिचकिचाउछन् भन्ने प्रश्न उठेको बताउनुभयो ।

नेकपा (एकीकृत समाजवादी)का शेरबहादुर कुँवरले चाडवाड नजिकिँदै जाँदा दैनिक उपभोग्य सामानको मूल्यवृद्धि हुने गरेकाले कालोबजारी र चर्को मूल्यवृद्धि रोक्न माग गर्नुभयो । जनमत पार्टीका अब्दुल खानले अवधी समाजमा स्वास्थ्य, शिक्षा, आर्थिक अवस्था उकास्न सीपमूलक तालिम जरुरी भएकाप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।

 जनता समाजवादी पार्टी (जसपा) नेपालका दीपक कार्कीले पूर्वपश्चिम राजमार्ग हुँदै पहाडी लोकमार्ग जोड्ने पुल निर्माणमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका रामप्रकाश चौधरीले खेल क्षेत्रको विकास गर्न सकेमा खेलाडीले खेल खेलेरै जीविका चलाउनसक्ने बताउनुभयो ।

नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले नेपालका परराष्ट्रमन्त्रीको भारत भ्रमणका क्रममा नेपाल–भारतको खुल्ला सीमानाका कारण नेपालीले भोगेका समस्या, नेपाली भूमिका विषयमा कुरा उठाएको भए राम्रो हुने बताउनुभयो ।