काठमाडौँ, भदौ १८ गते । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको लागि १५ दिन कार्यावधि थप गरिएको छ । प्रतिनिधिसभाको आजको बैठकमा समितिका सभापति सूर्यबहादुर थापाले समितिको कार्यावधि थपसम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । सो प्रस्तावलाई सभाले सर्वसम्मतिले पारित गरेको थियो ।

त्यसैगरी प्रतिनिधिसभा, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले राष्ट्रियसभामा उत्पत्ति भएको ‘नेपाल विश्वविद्यालय विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१’ पेश गर्नुभएको छ । उहाँले ‘सावर्जनिक सेवा प्रशारण विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१’ समेत सभा समक्ष पेश गर्नुभएको छ । ‘धितोपत्रसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रतिनिधिसभाबाट सर्वसम्मतिले स्वीकृत भएको छ ।

‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ । सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा प्रतिनिधिसभाका सदस्य समक्ष पढेर सुनाउनुभएको छ । सभाको अर्को बैठक यही भदौ २४ गते दिनको १ बजे बस्ने भएको छ ।