काठमाडौँ, भदौ १८ गते । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)को पोलिटब्युरो कमिटीको बैठक बस्दै छ । आज मङ्गलबार दिउँसो १ बजे बस्ने तयभएको पोलिटब्युरो कमिटीको बैठकमा सचिवालयले प्रस्ताव गरेका वार्षिक कार्ययोजनामा छलफल गरेर सुझावसहित पारित गर्न बैठक बस्न लागेको हो ।

ललितपुरको बालकुमारीस्थित पार्टी केन्द्रीय कार्यालय च्यासलमा भदौ १३ गते बसेको केन्द्रीय सचिवालय बैठकले एक वर्षे कार्ययोजना तयार गर्दै छलफलका लागि प्रस्ताव गरेको थियो ।

एमाले सचिवालयले प्रस्तुत गरेको कार्ययोजना माथि पोलिटब्युरोमा छलफल गरी नेताहरूलाई जिम्मेवारी दिएर देशैभरी परिचालन गर्ने तयारी गरेको छ । प्रस्तावित कार्ययोजनामा सदस्यता विस्तार, प्रारम्भिक तहको वैचारिक कक्षा सञ्चालन र जनसरोकारका विषयमा नेताहरु केन्द्रीत हुनुहुने बताइएको छ ।

एमालेले मिसन २०८४ लाई भन्दै आगामी निर्वाचनलाई देशैभर गरी १० लाख पार्टी सदस्य बनाउने योजना बनाएको छ । उक्त योजना अनुसार एमालेले नेताहरूलाई जनताको घरघरमा पुग्नेगरी सङ्गठन परिचालन गर्ने र जनताका अपेक्षा बुझेर समस्या समाधानको पहिचान गरी उनीहरुको मागलाई सम्बोधन गर्न विशेष पहल गर्ने बताइएको छ । एमालेले पार्टी स्कुलले वैचारिक कक्षा सञ्चालनका लागि पाठ्य सामग्री नै तयार पारेको छ ।

यसअघि एमाले केन्द्रीय कमिटीको बैठकले केन्द्रीय नेताहरूको कार्यविभाजन गर्दै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन निर्वाचन क्षेत्रमा परिचालन गर्ने निर्णय गरेको थियो । सोही बैठकले पार्टी प्रदेश कमिटीका नेताहरूलाई पालिका र पालिकास्तरका नेताहरुलाई वडामा परिचालन गरी सोही अनुसारको जिम्मेवारी दिने निर्णय गरेको थियो । पालिकाका सदस्यहरु वडा र वडाका सदस्यहरु टोल र जनताको घरघरसम्म पुग्नेगरी कार्यविभाजन गरेको थियो ।

आज बोलाइएको पोलिटब्यूरो कमिटीको बैठकमा सोही कार्यविभाजनलाई टीओआरसहित कार्यान्वयन लैजानका लागि छलफल गरिने छ । यसका साथै आजको बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले सरकारको कामकारवाही र देशको वर्तमान राजनीतिक परिस्थितिका बारेमा पनि पोलिटब्यूरो कमिटीका सदस्यहरुलाई जानकारी गराउनुहुने बताइएको छ ।