काभ्रे, भदौ १८ गते । काभ्रेको पाँचखाल नगरपालिकाले मनसुनमा वर्षा तथा अन्य विपद्का कारण जोखिमयुक्त घरपरिवारलाई आर्थिक राहत उपलब्ध गराउने भएको छ । नगरस्थित विपद् व्यवस्थापन समितिको बैठकले क्षतिको विवरण मध्यनजर गर्दै पीडित परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको हो ।

नगरले बस्नै नहुनेगरी क्षति पुगेका परिवारलाई रु ५० हजार तथा मर्मतसम्भार तथा संरक्षण गर्नुपर्ने घरका लागि प्रतिपरिवार रु १५ हजार राहत उपलब्ध गराउने भएको जनाइएको छ । नगरप्रमुख महेश खरेलले प्रत्येक वडाबाट हालसम्मको क्षतिको विवरण मागिएको बताउनुभयो । “क्षतिको विवरणका आधारमा राहत प्रदान गर्दै जानेछौँ”, उहाँले भन्नुभयो । उहाँका अनुसार पहिलो प्राथमिकता बसोबास गर्दै आएको घरमा भएको क्षतिलाई दिइनेछ ।

यस्तै बसोबास गर्दै गरेको जोखिममा परेको घरका संरक्षणलाई दोस्रो प्राथमिकता दिइने छभने खानेपानीको मुहान, ट्याङ्की तथा पाइप लाइन अवरोध भएकाको लागि तत्काल आर्थिक सहयोग व्यवस्थापन गर्ने जनाइएको छ । प्रारम्भिक अनुगमनमा नगरको ८, ११ र १३ नं वडामा अविरल वर्षाले धेरै क्षति पुर्याएको पाइएको छ ।

नगरको अन्य वडाको क्षतिबारे विवरण आएपछि राहत रकम वितरण गरिने खरेलले बताउनुभयो । “हाल त्रिपाल तथा पलाष्टिक दिने काम सुरु गरेका छौँ थप राहत सामग्रीको व्यवस्थापनमा लागेका छौँ”, उहाँले भन्नुभयो । मनसुनको लगातार वर्षाले पाँचखालका विभिन्न कृषि ग्रामीण सडक अवरुद्ध हुँदा दूध तथा तरकारी ढुवानीमा समस्या हुँदै आएको छ ।