पोखरा, भदौ १७ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले मन्त्रिमण्डल विस्तार गर्नुभएको छ । सत्ता गठबन्धन दल नेपाल कम्युनिस्ट पार्टी एमालेका चार जनालाई मन्त्रिमा नियुक्त गरेर आज सोमबार सरकार विस्तार गर्नुभएको हो ।

लामो सयमदेखि सरकार विस्तारमा काङ्ग्रेस र एमालेबीच रस्साकस्सी हुँदै आएकोमा हिजो दुवै दलबीच मन्त्रालय बढाएर सरकार विस्तार गर्न सहमत भएपछि आज एमालेले पद्मा जिसीको नेतृत्वमा चार जनालाई सरकारमा पठाएको हो । नवनियुक्त मन्त्रीलाई प्रदेश प्रमुख डिल्लीराम भट्टले पद तथा गोपनीयताको शपथ खुवाउनु भएको छ ।

मन्त्रालय भागबण्डा अनुसार पद्मा केसीलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, मित्रलाल बस्याललाई उद्योग तथा पर्यटन मन्त्रालय कृष्ण पाठकलाई स्वास्थ्य मन्त्रालय र प्रकाशबहादुर केसीलाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

साविक सात मन्त्रालयमा दुई मन्त्रालय थप गरी एमालेलाई चार वटा मन्त्रालय दिइएको छ । सामाजिक मन्त्रालयबाट फुटाएर स्वास्थ्य मन्त्रालय बनाइएको छ उद्योग तथा पर्यटन र वन तथा वातावरण बनाइएको छ ।

यस अघि भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आउनु भएका मन्त्री राजीव गुरुङ (दीपक मनाङे) लाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ । माओवादी केन्द्रको चुनाव चिन्ह लिएर गोरखाबाट निर्वाचित नेपाल समाजवादी पार्टीका फणीन्द्र देवकोटालाई पहिलेकै मन्त्रालयको जिम्मेवारी दिएको छ ।

नेपाली काङग्रेसले मुख्यमन्त्रीसहित जम्मा तीन वटा मन्त्रालय पाएको छ । काङ्ग्रेसले मुख्यमन्त्रीसहित आर्थिक मामिला मन्त्रालयसमाजिक विकास मन्त्रालय लिएको छ । आथिक मामिलाको मन्त्रीमा डा. टकराज गुरुङ र सामाजिक मन्त्रालयको जिम्मेवारी विन्दुकुमार थापालाई दिइएको छ । केन्द्रीय सत्ता समीकरणसँग गण्डकी प्रदेशमा पनि सत्ता समीकरण बदलिएको दुई महिनापछि गण्डकी प्रदेश सरकारले आजमात्रै पूर्णता पाएको हो । अब गण्डकी प्रदेशमा नौ मन्त्रालय कायम गरिएको छ ।