फाइल तस्वीर
काठमाडौँ, भदौ १७ गते । नेपाल बार एशोसिएसनले ‘विवादास्पद संशोधित न्याय परिषद् नियमावलीविरुद्ध थप आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । आन्दोलनमा उत्रिएको नेपाल बारले आज सोमबार दिउँसो २ बजेदेखि ३ बजेसम्म सर्वोच्च अदालत परिसरमा धर्नामा बस्ने भएको छ ।


कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एशोसिएसनले उपत्यका बार एकाइका कानुन व्यवसायीहरूलाई २ बजेदेखि ३ बजेसम्म धर्नाका लागि सर्वोच्च परिसरमा उपस्थित हुन अनुरोध गरेको छ । नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले बार अब निरन्तर आन्दोलनमा उत्रने बताउनुभयो ।

नेपाल बारले यसअघि प्रधान न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठसहित न्याय परिषदमा ज्ञापनपत्र बुझाउँदै आएको थियो । बारको ज्ञापनपत्रप्रति सम्बन्धित निकायले बेवास्ता गरेकोले आफुहरु आन्दोलनमा उत्रन बाध्यभएको बारका महासचिव अञ्जिता खनालले बताउनुभयो । बारले संविधान नै संशोधन गरेको नियमावली सच्चाउन भनी यसअघि अनुरोध गर्दापनि त्यसलाई बेवास्ता गरिएको हुँदा बार आन्दोलनमा उत्रिएको महासचिव खनालको भनाइ छ । नियमावली संशोधन नभएसम्म आन्दोलनको कार्यक्रम चलाइरहेको नेपाल बारले जनाएको छ ।