संसदीय सुनुवाई समितिमा भारतका लागि प्रस्तावित राजदूत शङ्कर शर्मा ।
काठमाडौँ, भदौ १६ गते । भारतका लागि प्रस्तावित राजदूत डा. शङ्कर शर्माले नेपाल र भारतबीचको सीमा र प्रबुद्ध समूह ग्रुप (ईपीजी) को विषय आफ्नो स्तरभन्दा माथि पुगेको बताउनु भएको छ । सङ्घीय संसद् अन्तर्गतको संसदीय सुनुवाई समितिमा आज आइतबार भएको प्रस्तावित राजदूतहरुको सुनुवाई गर्नेक्रममा भारतका लागि प्रस्तावित शर्माले सीमा र ईपीजी आफ्नो तहभन्दा माथि गइसकेको बताउनुभएको हो ।

पूर्वराजदूत शर्माले सीमा र ईपीजीको विषय उच्चस्तरमा टुङ्गो लगाउनु पर्ने बताउँदै उक्त विषय आफ्नो स्तरभन्दा धेरै माथि पुगिसकेको जिकिर गर्नुभएको थियो । नेपाल र भारतको ईपीजीले प्रतिवेदन बनाइसकेको छ । यद्यपि उक्त प्रतिवेदन भारतीय सरकारले बुझ्न आलटाल गर्दै आएको छ ।

लामो समयदेखि नेपालसँगको सीमा विवादलाई सल्टाउन प्रयास गरिएता पने भारतले त्यसप्रति बेवास्ता गर्दै आएको छ । नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको आफ्नो भूभागलाई समेटेर नयाँ नक्सा जारी गरेता पनि भारतले नेपालको उक्त भूभाग फिर्ता गर्न चाहेको छैन । भारतले अहिले पनि नेपाली भूभागमा आफ्नो आधिपत्य जमाउँदै आएको छ । भारतले आफ्नो नयाँ नक्सामा नेपालका ती भूभागलाई समेटेर नयाँ नक्सा जारी गरेपछि नेपालले सङ्घीय संसदको बैठकबाट अनुमोदन गर्दै कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको चूच्चे नक्सा सार्वजनिक गरेको थियो ।