फाइल तस्वीर
काठमाडौँ, भदौ १६ गते । सत्तारुढ दल नेपाली काङ्ग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै छ । गत २३ साउनदेखि जारी बैठकलाई निरन्तरता दिंदै आज आइतबार पनि दिउँसो ३ बजे केन्द्रीय समितिको बैठक बस्न लागेको हो ।

आजको बैठकमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको प्रतिवेदनमा सहमति जुटाएर महामन्त्रीहरुको प्रतिवेदन परिमार्जन गरेर पास गर्ने बताइएको छ ।

द्वयमहामन्त्रीको प्रतिवेदनमा सहमति जुटाउन भन्दै हिजो शनिबार सभापति देउवा निवासमा पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बसेको थियो । आज पनि दिउँसो १ बजे पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बसेर महामन्त्रीहरुको प्रतिवेदनमा सहमति जुटाएर परिमार्जन गरी केन्द्रीय समितिको बैठकमा पेश गरिने बताइएको छ । सहमति जुटेमा महामन्त्रीद्वयको प्रतिवेदन केन्द्रीय समितिको बैठकले अनुमोद गर्ने छ । महामन्त्रीहरुको प्रतिवेदनका कारण केन्द्रीय समितिको बैठक प्रभावित हुँदै आएको थियो ।

महामन्त्रीद्वयको प्रतिवेदनमा सहमति जुटे केन्द्रीय समितिको आजको बैठकमा शीर्ष नेताहरूले सम्बोधन गर्दै बैठकमा छलफल भएका विषयहरुमा निर्णय गरी समितिको बैठक समापन गर्ने पार्टीको तयारी रहेको बताइएको छ ।