फाइल तस्वीर
काठमाडौँ, भदौ १६ गते । आज प्रतिनिधिसभा अन्तर्गत रहेका विभिन्न चार समितिहरुको बैठक बस्दैछ । संसद सचिवालयका अनुसार आज आइतबार अर्थ समिति, संसदीय सुनुवाई समिति, शिक्षा स्वास्थ्य सूचना प्रविधि समिति र विधायन व्यवस्थापन समितिहरुको बैठक बस्ने भएको हो ।

अर्थसमितिको बैठकमा बैकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक २०८० माथि संशोधनकर्तासँग छलफल हुने कार्यसूची रहेको छ । बैठक नयाँबानेश्वरस्थित सङ्घीय संसद भवनमा रहेको अर्थ समितिको बैठक हलमा बिहान ११ बजे बस्ने सचिवालयले जनाएको छ ।

यसैगरी संसदीय सुनुवाई समितिको बैठक सरकारले १७ देशका लागि प्रस्ताव गरेको राजदूतहरुको सुनुवाई गर्ने भएको छ । बिहान ११ बजेका लागि बैठक तय भएको संसद सचिवालयले जनाएको छ ।

आजै बस्ने विधानयन समितिको बैठक बिहान साढे ११ बजे सिंहदरबारमा बस्ने भएको छ । आजको बैठकमा नवीकरणीय उर्जा तथा उर्जा दक्षता सम्बन्धी विधेयक—२०८१ माथि सैद्धान्तिक छलफल हुने कार्यसूची रहेको छ ।

यसैगरी शिक्षा स्वास्थ्य सूचना व्रविधि समितिको दिउँसो १ बजे बस्ने बैठकमा सार्वजनिक सेवा प्रसारण विधेयक २०७७ को सम्बन्धमा उपसमितिको प्रतिवेदनमाथि छलफल हुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।