तल्लो अरुण जलविद्युत आयोजना निर्माणले प्रभावित हुने क्षेत्र ।
खाँदबारी, भदौ १६ गते । पूर्वी पहाडी जिल्ला सङ्खुवासभामा निर्माण हुन लागेको ६ सय ६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाबाट दुई सय ६८ परिवार प्रत्यक्षरुपमा प्रभावित हुने भएका छन् । निर्माण कम्पनी भारतको सतलजले प्रस्ताव गरेको तल्लो अरुण जलविद्युत् आयोजना पुर्नवास तथा पुनःस्थापनाको मस्यौदा प्रतिवेदन अनुसार उक्त आयोजना निर्माणका लागि करिब ६५ हेक्टर जमिन अधिग्रहणमा पर्ने भएपछि ती परिवार प्रभावित हुन लागेका हुन् ।

आयोजनाले प्रभावित स्थानीयलाई करिब एक अर्ब ४० करोड रुपैयाँ मुआब्जा वितरण गरिने जनाएको छ । तल्लो अरुण बन्ने पक्का भएपछि प्रभावित क्षेत्रका बासिन्दासँग निर्माणकर्ता भारतीय सतलज कम्पनीले छलफल अघि बढाएको छ ।

तल्लो अरुण पावरडेभलपमेन्ट कम्पनीका प्रमुख कार्यकारी निर्देशक अरुण धिमानले स्थानीयको जमिनको साथै, ७० हेक्टर वन क्षेत्र र सरकारी जग्गा ६ हेक्टर अधिग्रहण हुने जानकारी गराउनुभयो ।

नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् उत्पादनपछि खेर गएको पानीबाट खाँदबारी नगरपालिका–२ चेवाबेसीमा करिब १७ दशमलव चार किलोमिटर सुरुङ मार्गबाट पानी ल्याएर तल्लो अरुण आयोजना निर्माण गर्न लागिएको हो । भारतीय कम्पनी सतलजले नै अहिले नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।