फाइल तस्वीर
काठमाडौँ, भदौ १५ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र र संविधानलाई सबल बनाउन निरन्तर लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । क्याप्टेन रामेश्वर थापाद्वारा लिखित ‘इन टुु द फायर’ पुस्तकको विमोचन कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उहाँले लोकतान्त्रिक शासन प्रणालीमा अरुको अधिकार हनन हुनेगरी कुनै पनि काम गर्न नदिने स्पष्ट पार्नुभयो ।

नेपालको आफ्नै पहिचान भएकाले कुनै पनि देशको नक्कन गर्नुपर्ने आवश्यकता नरहेको स्पष्ट पार्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “नेपालको आफ्नै पहिचान, सभ्यता र संस्कृति छ । बङ्गलादेशमा जे भयो, त्यो यहाँ हुँदैन । नेपाल कुनै मुलुकको ‘फोटोकपी मेसिन’ होइन, यहाँ त्यस्तो हुन सम्भव छैन ।”

लोकतन्त्र र संविधानलाई सबल बनाउन निरन्तर लागिपर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्री ओलीले लोकतन्त्रविरुद्ध लड्नेहरूले लोकतन्त्रवादीहरूलाई तर्साउन सम्भव नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले लडेर ल्याएको लोकतन्त्र र संविधानलाई सबल बनाउन हामी लागेका छौँ । लोकतन्त्रविरुद्ध लड्नेहरूले हामीलाई तर्साउन सम्भव छैन ।”

विगतमा जस्तो नेपालमा अब कहिल्यै हिंसात्मक गतिविधि हुन नसक्ने र हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “हामीलाई सिक भनेर चर्काे स्वरमा बोल्नेहरूलाई म राम्ररी सिक भन्न चाहन्छुु, नेपालमा अब बेथिति, अराजकता र हिंसाको राजनीति सम्भव छैन । सम्भव हुन दिइँदैन ।”

नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा पनि सहभागी कार्यक्रममा प्रधानमन्त्री ओलीले लोकतन्त्र र देश बनाउने अभियानमा आफू छ दशकदेखि लागिरहेको स्मरण गर्दै समाजको सुव्यवस्थाका लागि मानव जातिले राजनीति र राजनीतिक दल सृजना गरेकाले राजनीतिकप्रति घृणा फैलाउने प्रयास गर्न नहुने बताउनुभयो ।

“अहिलेको सरकारले कसैमाथि अन्याय र अत्याचार गर्दैन । आफ्नो हित र रक्षाका लागि केही गलत काम गर्दैन तर जनताको हित र रक्षाविरुद्ध कसैले काम गरेमा विधिको शासनबमोजिम शान्ति सुरक्षा र सम्मान कायम गर्छ,” प्रधानमन्त्री ओलीले थप्नुुभयो, “राज्यका निकायले कानुनको पालना गर्छन् । न्यायोचित कानुनलाई सबैले मान्नुुपर्छ । कानुनको विवेकसम्मत कार्यान्वयन हुुनुपर्छ । लोकतन्त्र सरकार र सबैको जीवन पद्धति हुनुुपर्छ । हामी परिपूर्ण लोकतन्त्रको पक्षमा छौँ ।”

आफ्नो न्यायिक कमाइबाहेक अरु सम्पतिमा लोभ नगर्ने, अनैतिक काम नगर्ने, जानीजानी झुठ नबोल्ने, अरुको अहित नगर्ने, भ्रष्टाचार नगर्ने र गर्न नदिने सङ्कल्प दोहो¥याउँदै प्रधानमन्त्री ओलीले देशको अर्थतन्त्र शिथिल भएका बेला अर्थतन्त्रलाई सुधार्दै गरिबीको दुुष्चक्रबाट मुलुकलाई माथि उठाउन आफूहरू लागिरहेको स्पष्ट पार्नुभयो ।

कार्यक्रममा प्रधानमन्त्री ओली, सभापति देउवा र बालगुरु आदित्यनाथले थापाको पुस्तक लोकार्पण गर्नुभएको थियो । प्रधानमन्त्री ओली र सभापति देउवाले नेपालको शान्ति प्रक्रिया, राजनीतिक स्थिरता र विकासका लागि थापाले आफ्नो ज्यान जोखिममा राखेर पनि महत्त्वपूर्ण पहल गर्दै आएकामा प्रशंसा गर्नुभएको थियो ।