दरबारमार्गमा रैथाने कृषि बाली मेला अवलोकन गर्दै पूर्वराष्ट्रपति डा रामवरण यादव ।
काठमाडौँ, भदौ १५ गते । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले रैथाने बीउ, बाली हराउँदै जान थालेकाले यसको संरक्षण गरिनुपर्नेमा जोड दिनुभएको छ । रैथाने एग्रो प्रोडक्ट्स् नेपाल टोखा–४ ले प्रत्येक शनिबार राजधानीको दरबारमार्गमा आयोजना गर्ने गरेको रैथाने कृषि बाली मेलाको आज यहाँ अवलोकन गर्नुहुँदै पूर्वराष्ट्रपति यादवले यस्तो धारणा व्यक्त गर्नुभएको हो ।

पूर्वराष्ट्रपति यादवले रैथाने बीउ, बाली हराउँदै जान थालेकाल यस्ता विषयले नेपालका राजनीतिकर्मीको मन दुख्नुपर्ने उल्लेख गर्दै रैथाने बीउ, बाली हराएर लोप भए कृषि प्रणालीमै समस्या आउने भएकाले सरोकार भएका निकायको ध्यान जानुपर्नेमा जोड दिनुभयो ।

चुरे क्षेत्रको विनाशले तराईमा पानी कम भई खानेपानीकै अभाव भएकाले कृषिकर्मका लागि त झन् समस्या हुन थालेको उहाँले सुनाउनुभयो । चुरे क्षेत्रको संरक्षण नगरी सडकलगायत काम गर्दा नेपालमै राम्रो अन्न उत्पादन हुने तराई क्षेत्र उजाड बन्ने खतरा देखिन थालेकाले समयमै सचेत हुनुपर्नेमा प्रथम राष्ट्रपति यादवले सचेत गराउनुभएको थियो ।

पहिले गाउँगाउँमा जेटिए गएर कृषिकर्म गराउने गरेकामा अहिले त्यो व्यवस्थाको अन्त्य गराएर नेपालको कृषि प्रणाली अधोगतितर्फ जान थालेकाले बेलैमा सचेत हुनुपर्ने उहाँको भनाइ थियो । सो अवसरमा रैथाने एग्रो प्रोडक्ट्स् नेपालका अध्यक्ष तिलक ढकालले उपभोक्ताले स्वस्थ एवं अग्र्यानिक उत्पादन पाऊन् भन्ने उद्देश्यले प्रत्येक हप्ताको शनिबार दरबारमार्गस्थित ओरियन क्याफेमा मेला आयोजना गर्ने गरिएको जानकारी गराउनुभएको थियो ।

साप्ताहिक रूपमा शनिबार बिहान ६ देखि मध्याह्न १२ बजेसम्म चल्ने मेलामा रैथाने उत्पादनको बिक्रीवितरण हुने गरेको छ । मेलामा उपभोक्ताको सहभागिता पनि बढ्न थालेको संस्थाका सदस्य वैकुण्ठ प्याकुरेलले जानकारी दिनुभयो । रैथाने उत्पादनलाई तीनै तहका सरकारले प्रवर्द्धन गर्नेगरी नीति निर्माण गरिनुपर्नेमा उहाँले जोड दिनुभयो ।