फाइल तस्वीर राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन ।
काठमाडौँ, भदौ १५ गते । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले देश अहिले आँधी आउनु अगाडिको सन्नाटा छाएको बताउनुभएको छ । आज शनिबार काठमाडौँको साँखुमा राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्गठन शङ्खरापुर नगर अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले यस्तो धारणा व्यक्त गर्नुभएको हो ।

देशमा उचित शिक्षा र रोजगारीको अवसर नरहेकोले युवाहरू विदेश पलायन भएको सन्र्दभ उल्लेख गर्दै अध्यक्ष लिङ्देनले १२ कक्षा पास गरिसकेपछि विदेश जानुपर्ने वाध्यात्मक अवस्था आएको बताउनुभयो । अध्यक्ष लिङ्देनले खर्च जुटाउन सक्नेहरु अमेरिका, क्यानडा, अस्ट्रेलिया, बेलायत जाने र खर्च जुटाउन नसक्नेहरू मलेसिया र साउदी अरब जाने गरेको बताउनुभयो ।

सरकार अप्रजातान्त्रिक भएको उल्लेख गर्दै सरकारको विरोध गर्ने युवाहरूलाई खोजी खोजी पक्राउ गरी थुन्ने काम भइरहेको भन्दै सरकारप्रति आक्रोश व्यक्र गर्नुभयो । राप्रपा अध्यक्ष लिङ्देनले ‘प्रजातन्त्रमा शान्तिपूर्ण रूपमा विरोध गर्न नपाउने, लेख्न नपाउने भनेपछि कस्तो व्यवस्थाको अभ्यास गरिरहेका छन् त ? भनि प्रश्न गर्नुभयो ।

आज काङ्ग्रेस र एमाले सरकारमा छन्, आफ्नो विरोध गर्नेलाई उनीहरूले धमाधम पक्राउ गर्न थालेका छन् । के उनीहरुले पनि नारा जुलुस, यसै प्रकारको विद्रोह गरेर आएका होइनन् ? आजका युवाहरूले भन्दा काङ्ग्रेस एमालेले हजारौँ गुणा विध्वंसको काम गरेर आएका होइनन् ?’ भनि प्रश्न गर्नुभयो ।