मलङ्गवा, भदौ १४ गते । यहाँस्थित पर्सा गाउँपालिकामा ग्रामीण अल्ट्रासाउन्ड सेवा सुरु भएको छ । पालिकाअन्तर्गतका छवटै वडाका नागरिकको सहजताका लागि सेवा सुरु गरिएको गाउँपालिका अध्यक्ष धिरेन्द्र यादवले जानकारी दिनुभयो । सेवा सुरु भएपछि त्यस क्षेत्रका गर्भवती बढी लाभान्वित भएका छन् । “गर्भवतीलाई लक्षित गरी ग्रामीण अल्ट्रासाउन्ड सेवा सुरु गरिएको छ”, अध्यक्ष यादवले भन्नुभयो, “पैसा तथा जानकारीको अभावमा अल्ट्रासाउन्ड नगराउदा गर्भवतीको ज्यान नै जोखिममा पर्ने गरेकाले सेवा सुरु गरेका हौँ ।”

गाउँपालिकाको सहयोगमा गएको भदौ १ गतेदेखि सबै वडामा गर्भवतीलाई अल्ट्रासाउन्ड  सेवा दिन थालिएको सूचना अधिकारी विमलेश यादव (रुपेश)ले जानकारी दिनुभयो । अल्ट्रासाउन्ड गर्नाका साथै स्वास्थ्यकर्मीले गर्भवतीको स्वास्थ्य परीक्षण गरी निःशुल्क रुपमा आइरन चक्कीलगायत औषधिसमेत वितरण गरिँदै आएको उहाँले बताउनुभयो ।

यसैगरी गत आर्थिक वर्षदेखि यहाँ ‘गाउँपालिका अध्यक्षसँग ज्येष्ठ नागरिक’ कार्यक्रम सञ्चालन गरी निःशुल्क स्वास्थ्य चेक जाँच पनि हुँदै आएको छ । यस कार्यक्रमअन्तर्गत स्वास्थ्यकर्मीले ज्येष्ठ नागरिकको घरघरमा गएर स्वास्थ्य परीक्षण गर्नुका साथै निःशुल्क औषधि वितरण हुने गरेको गाउँपालिका जनस्वास्थ्य निरीक्षक चन्देश्वरप्रसाद साहले जानकारी दिनुभयो । गत आर्थिक वर्षमा नौ हजार चार सय ८० जना ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरी औषधि वितरण गरिएको उहाँले बताउनुभयो । साहकाअनुसार मधुमेह, ज्वरो, रक्तचापलगायतका औषधि निःशुल्क वितरण गरिएको थियो ।  

मधेस प्रदेश सरकारको सहयोगमा पर्सा गाउँपालिका–३, स्थित नारायणपुर स्वास्थ्य चौकीमा अतिआधुनिक प्रयोगशाला सेवाको स्थापना भएपछि स्थानीयले सहुलियत दरमा सेवा पाएका छन् ।