फाइल तस्वीर
विराटनगर, भदौ १४ गते । लामो समयको अन्तरालपछि कोशी प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभाको स्थगित भएको बैठक दुई महिनापछि आज शुक्रबार बस्न लागेको हो ।

गत असार ८ गते चालु आर्थिक वर्ष २०८१/०८२ को बजेट पास भएपछि स्थगित भएको बैठक दुई महिना पछि आज बस्न लागेको कोशी प्रदेशसभा सचिवालयले जनाएको छ ।

सरकारको नेतृत्व गरेको नेकपा एमाले र नेकपा माओवादी केन्द्रको गठबन्धन सरकारले बजेट पास गरेपछि केन्द्रदेखि प्रदेशका सरकारहरुमा एमाले र काङ्ग्रेसको गठबन्धनको सरकार गठन भएका थिए । कोशी प्रदेशमा पनि माओवादी सरकारबाट बाहिरिएपछि एमााले र काङ्ग्रेसको गठबन्धनमा सरकार निर्माण भएको छ । दुई महिना अघि सत्तामा रहेको माओवादी केन्द्र प्रमुख प्रतिपक्षी बेञ्चमा बस्नेछ भने नेपाली काङ्ग्रेस सत्ता पक्षमा रहनेछ । यद्यपि, अहिलेसम्म नेपाली काङ्ग्रेसले आन्तरिक विवादका कारण कोशी प्रदेश सरकारमा मन्त्रीहरु पठाउन सकेको छैन ।

काङ्ग्रेसले पार्टी केन्द्रीय समितिको बैठक पछि मात्रै कोशी प्रदेश सरकारमा मन्त्रीहुनेहरुको नाम पठाउने भएको छ । कोशी प्रदेशमा काङ्ग्रेसको संस्थापन पक्ष र संस्थापन इतर पक्षीबीच लामो रस्साकस्सी चलिरहेको छ । सरकारमा कस–कसलाई पठाउने भन्ने विषयमा अब केन्द्रले व्यक्ति चयन गर्ने बुझिएको छ ।

त्यसो त गण्डकी प्रदेश सरकारमा पनि नेपाली काङ्ग्रेस र एमालेबीच लामो समयदेखि विवाद रहँदै आएको थियो । तर अब गण्डकी प्रदेशमा नौ वटा मन्त्रालयमा भागभण्डा मिलाएर एमालेले चार मन्त्रालय पाउनेगरी सहमति जुटेको छ । नेपाली काङ्ग्रेसको नेतृत्व रहेको गण्डकी प्रदेश सरकारमा एमाले तत्कालै सहभागी हुनेभएको छ ।