फाइल तस्वीर मुख्यसचिव एकनारायण अर्याल
काठमाडौँ, भदौ १४ गते । सरकारले मुख्य सचिवमा गृह मन्त्रालयका सचिव एकनारायण अर्याललाई नियुक्त गर्ने निर्णय गरेको छ । बहालवाल मुख्यसचिव लीलादेवी गड्तौला आज शुक्रबारदेखि अनिवार्य अवकाशमा जानुहुने भएपछि हिजो बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गृहसचिव अर्याललाई मुख्यसचिवमा बनाउने निर्णय गरेको हो ।

तात्कालीन मुख्यसचिव डा. बैकुण्ठ अर्याल भ्रष्टाचार प्रकरणमा मुछिएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको तात्कालीन सरकारले वर्तमान मुख्यसचिव लीलादेवी गडतौलालाई कायममुकायम मुकरर गरी मुख्यसचिवको जिम्मेवारी दिएको थियो । पछि एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएपछि कामु मुख्यसचिव गडतौलालाई मुख्यसचिवमा नियुक्त गरेको थियो । दुई महिनाभन्दा बढि समेतदेखि निजामती सेवाको मुल नेतृत्व सम्हाल्दै आउनु भएकी मुख्यसचिव गड्तौला आजबाट अनिवार्य अवकाशमा जादै हुनुहुन्छ ।

राष्ट्रिय योजना आयोगका सचिव तोयानारायण ज्ञवाली पहिलो, सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव रामकृष्ण सुवेदी दोस्रो र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव दिनेश भट्टराई तेस्रो वरियतामा रहे पनि सरकारले चौथो नम्बरका अर्याललाई मुख्यसचिव बनाएको हो ।