फाइल तस्वीर
काठमाडौँ, भदौ १४ गते ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय सल्लाहकार समितिको बैठक बस्दैछ । बैठक आज शुक्रबार बिहान साढे ९ बजे काठमाडौँको धुम्बाराहीमा बस्ने भएको हो ।

बैठक धुम्बाराहीस्थित एसआर बैङ्क्वेटमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले गर्नुहुने राप्रपा पार्टी प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

प्रवक्ता श्रेष्ठले बताउनुभए अनुसार बैठकमा पार्टीले लिएका नीतिहरूका बारेमा सल्लाकारहरूले आफ्नो धारण दिनु हुनेछ । पार्टीलाई सफल, सक्षम र मजबुत बनाउन बैठकको आयोजना गरिएको जानकारी गराउँदै प्रवक्ता श्रेष्ठले विगत चौतीस वर्षको इतिहासमा पार्टीले पहिलो पटक यस्तो बैठक आह्वान गरेको बताउनुभयो ।
पार्टीलाई कसरी सफल, सक्षम र मजबुत बनाउने भन्ने विषयमा छलफल गर्न राप्रपाद्वारा केन्द्रीय सल्लाहकार समितिको बैठक आह्वान

राप्रपा सल्लाहकार समितिको अध्यक्षमा पार्टीका नेता एवं पूर्वमन्त्री निरञ्जन थापा रहनुभएको छ । सल्लाहकार समितिको बैठकमा पार्टीका शीर्षहरु नेता पूर्वअध्यक्ष पशुपतिशमशेर जबरा, पूर्वअध्यक्ष एवं निर्देशन समितिका अध्यक्ष डा प्रकाशचन्द्र लोहनीलगायत अन्य नेताहरूको पनि सहभागिता रहने बताइएको छ ।

बैठकको औपचारिक उद्घाटन पश्चात सल्लाहकार समितिका अध्यक्ष थापाले कार्यपत्र पेश गर्नुहुने कार्यक्रम रहेको राप्रपाले जनाएको छ । अध्यक्ष थापाले बैठकमा पेश गर्नुभएको कार्यपत्रमाथि सल्लाहकार समितिका सदस्यहरूले छलफल गर्नुको साथै बैठकमा पार्टी सङ्गठन, पार्टीको आगामी कार्यक्रम, कार्यनीतिका साथै देशको समसामयिक राजनीतिक विषयहरुमा पनि छलफल हुने बताइएको छ ।