काँक्रेविहार, भदौ १३ गते । घोगा लाग्न थालेका मकैबालीमा हावाहुरीले क्षति पु¥याउँदा जाजरकोट नलगाड नगरपालिका–८ हल्चौरका किसान चिन्तित भएका छन् । घोगा लाग्न थालेका मकै नष्ट भएपछि यहाँका किसान चिन्तित बनेका हुन् । मुख्यबालीका रुपमा रहेको मकैबालीमा हावाहुरीले बोट भाँचिदिएपछि समस्या उत्पन्न भएको किसान हरिबहादुर खत्रीले बताउनुभयो । यहाँका चार सय भन्दाबढी परिवारले लगाएका सयौँ रोपनी मकैबालीमा क्षति भएपछि खाद्यान्न सङ्कट पर्ने उहाँले उल्लेख गर्नुभयो ।

बुधबार आएको हावाहुरीले भएको क्षतिबारे प्रहरीले विवरण सङ्कलन गरिरहेको किसान विष्णु खत्रीले जानकारी दिनुभयो । भूकम्पबाट प्रभावित भएको ठाउँमा फेरि हावाहुरीले अन्नबाली नष्ट गरेपछि समस्या भएको उहाँको भनाइ छ । 

नलगाड–८ का वडाध्यक्ष तेजबहादुर सिंहले ठूलो मात्रामा किसानका मकैबाली नष्ट भएको बताउनुभयो । वडामा सहयोग गर्न रकम नभएकाले सरोकार भएका अन्य निकायसँग क्षतिपूर्तिका लागि पहल गर्ने उहाँले उल्लेख गर्नुभयो ।