काठमाडौँ, भदौ १३ गते । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । बैठक काठमाडौँको नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा केहीबेर अघिबाट सुरु भएको हो ।संसद सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगको २३ औँ वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९/०८० पेस गर्नुहुने कार्यसूची रहेको छ ।

यसैगरी आजको बैठकमा सांसद् सोबिता गौतमले ‘हवाई क्षेत्रसँग सम्बन्धित अन्तर्राष्ट्रिय सङ्गठनहरूले नेपालका हवाई उड्डयन क्षेत्रलाई असुरक्षित भनिरहेको, हवाई दुर्घटनाहरूले एयरलाइन्स र हवाई यातायात उद्योगको छवि र विश्वासमा समेत असर परेको हुँदा तत्काल सुधारात्मक कदम चाली विश्वसनीयता बढाउन आवश्यक भएको’ विषयको जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ ।

साथै सभामुख देवराज घिमिरेले संविधानसभाका सदस्य श्रवणकुमार अग्रवालको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ ।