काठमाडौँ, भदौ १२ गते । प्रतिनिधिसभा सांसदहरूले दिगो र भरपर्दो सिँचाइ, चुरे संरक्षण, सुरक्षित आवास निर्माण तथा भ्रष्टाचार नियन्त्रणलगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसदहरूले राष्ट्रको समृद्धिका पक्षमा सबै पार्टी एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

नेपाली कांग्रेसका सांसद दिनेशकुमार यादवले पूर्वी तराई मधेसको सप्तरी जिल्लामा दिगो र भरपर्दो सिँचाइ आयोजना नभएकामा सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले सप्तरी जिल्लामा सिँचाइ आयोजनाका लागि बजेट प्राप्त भए पनि कार्यालय स्थापना हुन नसक्दा समस्या परेकाले समाधानका लागि आग्रह गर्नुभयो । चुरे संरक्षण, वर्षातको समयमा बाढीको जोखिम र हुलाकी राजमार्गको विस्तार एवं मर्मतका लागि द्रुतगतिमा काम गर्न उहाँले सरकारसँग माग गर्नुभयो ।

सोही दलका सांसद देवप्रसाद तिमल्सेनाले विभिन्न आयोजनाका काममा भइरहेको ठिलाइप्रति सरकारको ध्यानाकर्षण गराउनुहुँदै समयमा काम गर्ने व्यवसायीको भुक्तानी समयमै दिने र काम नगर्नेलाई कारबाहीको दायरामा ल्यानुपर्नेतर्फ धारणा राख्नुभयो । उहाँले स्वदेशी काठको खपत, सुरक्षित आवास कार्यक्रमको प्रभावकारिता, दूध उत्पादक किसानलाई समयमा भुक्तानी र संस्थागत भ्रष्टाचारको अन्त्यका लागि ध्यानाकर्षण गराउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद रणेन्द्र बराइलीले सत्तापक्ष र प्रतिपक्ष संसद्मा जुहारी खेल्नुभन्दा राष्ट्र समृद्ध बनाउनेतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले राष्ट्र निर्माणको सवालमा राजनीतिक दलबीच समान धारणा जरुरी रहेको उल्लेख गर्नुहुँदै एउटा सरकारले ल्याएको योजना अर्को सरकारले भत्काउने प्रवृत्तिको विरोध गर्नुभयो । सिङ्गो दलित समुदायको हक स्थापित गर्न गठन गर्ने भनिएको दलित विकास प्राधिकरणलगायत विषयको तत्काल कार्यान्वयन गर्न माग गर्नुभयो ।

नेकपा (एमाले)का सांसद जुलीकुमारी महतो (महासेठ) ले वर्तमान सरकारसँग जनताको अपेक्षा र विश्वास रहेकाले असफल हुने छुट नरहेको बताउनुभयो । उहाँले नेपाल विद्युत् प्राधिकरणको सबै बक्यौता उठाउनुपर्नेमा जोड दिनुभयो । सांसद महासेठले चुरे संरक्षणका लागि सचेत हुन सबै पक्षलाई आग्रह गर्नुभयो ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद चन्दा कार्की भण्डारीले भ्रष्टाचार निवारण ऐन संशोधन गर्न बनेको विधेयकमा पाँचवर्षे हदम्याद राख्ने विषयको विरोध गर्नुभएको थियो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ध्रुवबहादुर प्रधानले जनताको मनोभावना सम्बोधन गरेर राजनीतिक स्थिरता ल्याउन सुझाव दिनुभयो ।

जनता समाजवादी पार्टीका सांसद सुशीला श्रेष्ठले बाँकेकी निर्मला कुर्मीको न्यायका लागि सरकारले पहल गर्नुपर्ने बताउनुभयो । जनमत पाटीका सांसद अनिता देवीले सवारी दुर्घटना नियन्त्रण गर्न ध्यानाकर्षण गराउनुभयो ।

जनता समाजवादी पार्टी(जसपा) नेपालका सांसद राजकिशोर यादवले राजदूत नियुक्ति समावेशी हुनुपर्नेमा जोड दिनुभयो । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका रामप्रकाश चौधरीले वैदेशिक रोजगारीमा जाने युवाका लागि आप्रवासी नीति ल्याउनुपर्ने बताउनुभयो ।  

नागरिक उन्मुक्ति पार्टीका सांसद रञ्जिता श्रेष्ठले स्वास्थ्य सुविधालाई थप व्यवस्थित बनाउन सुझाव दिनुभयो । स्वतन्त्र सांसद डा अमरेशकुमार सिंहले सिख धर्म संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।