प्रतिनिधिसभाको आजको बैठक ।
काठमाडौँ, भदौ १२ गते । प्रतिनिधिसभाको जारी बैठकमा सत्ता पक्षीय एमाले र प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका सांसदहरुबीच चर्काचर्की भएको छ । प्रतिनिधिसभाको आज बुधबारको बैठकको विशेष समयमा बोल्दै भट्टराईले डेडिकेटेड फिडर र ट्रकलाइन महसुल विवादमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिजो मङ्गलबार गर्नुभएको सम्बोधनको जवाफ दिनेक्रममा जनयुद्धलाई ‘हिंसा’ भन्ने शब्द प्रयोग गरेको प्रति माओवादी केन्द्रका सांसदहरुले आपत्ति जनाएपछि संसदमा विवाद उत्पन्न भएको हो ।

एमाले सांसद् भट्टराईको अभिव्यक्तिप्रति माओवादी केन्द्रका सांसद माधव सापकोटा बैठकमा उठेर नियमापत्ति गर्नुभएको र सभामुख देवराज घिमिरेले के विषयमा नियमापत्ति हो भनि सांसद सापकोटालाई सोध्नुभएको थियो । सभामुख घिमिरेको प्रश्नपछि माओवादी केन्द्रका सबै सांसदहरूले उठेर एमाले सांसद भट्टराईले बोल्नुभएको ‘हिंसा’ भन्ने शब्दप्रति आपत्ति प्रकट गर्दै विरोध गरेपछि बैठकमा होहल्ला मञ्चिएको थियो । माओवादीका सांसद्हरुको विरोधपछि सभामुख घिमिरेले माओवादीका तर्फबाट सांसद देवेन्द्र पौडेललाई बोल्द समय दिनुभयो । त्यसपछि सांसद पौडेलले बैठकमा एमाले सांसद भट्टराईले जनयुद्धको अपमान गर्दै संसदीय मर्यादा उल्लङ्घन गरेको जिकिर गर्नुभएको थियो ।

सांसद पौडेलले बोल्न सुरुगरे लगतै एमालेका सांसदहरूबाट उठेर होहल्ला गर्न सुरुभयो । एमाले र माओवादीका सांसदहरूबीचको होहल्लाकै बीच एमालेका सांसद योगेश भट्टराई पुनः उठेर संसद्मा बोल्न नदिनु पनि हिंसा हो भन्ने टिप्पणी गर्नुभएपछि बैठक स्थलमा तनाव उत्पन्न भएको थियो । हो हल्लाको जुहारीलाई मन्थर पार्दै सभामुख घिमिरेले एमाले सांसद रघुजी पन्तलाई बोल्न समय दिनुभएको थियो ।

एमाले सांसद पन्त पनि जनयुद्धमा मानिसहरूको ज्यान गएकाले त्यो हिंसा भएको भनी ‘हिंसा’ शब्द असंसदीय होइन भनेपछि पुनः विवाद चर्कियो । सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दलका सांसद्हरुको होहल्लाकै बिचमा सभामुख घिमिरेले सांसद भट्टराईको शब्दमा छानविन गर्न आफूले सचिवालयलाई निर्देशन दिएको जानकारी गराएता पनि माओवादीका सांसद्हरुको विरोधले केहीबेर बैठकमा होहल्ला र वादविवाद मच्चिरह्यो ।

माओवादी सांसद सापकोटाले आफूले बोल्न खोज्दा समय नदिएको तर सत्ता पक्षका सांसद पन्तलाई सभामुखले समय उपलब्ध गराएको भनी आपत्ति जनाउनुभयो । सापकोटाको आपत्तिपछि सभामुख घिमिरेले कुन नियम अन्तर्गत नियमापत्ति हो भन्दै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न समय दिनुभयो र प्रमुख सचेतक पाण्डेले बैठकमा नियम २६ पढेर सुनाउनु भयो ।

सांसद पाण्डेको नियमापत्ति पछि सभामुख घिमिरेले निर्देशन दिनुपर्ने संसद् बैठक सुचारु हुने बताएपछिसभामुखले फेरि निर्देशन दिएको जानकारी दिँदै माओवादी केन्द्रका सांसद रणेन्द्र बरालीलाई बोल्नका लागि सात मिनेटको समय दिनुभयो । बरालीले बोल्न थालेपछि संसद्को बैठक पुनः सुरु भएको थियो ।