नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डे ।
काठमाडौँ, भदौ १२ गते । प्रतिनिधिसभाका आजको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले भ्रष्टाचार काम र कानुनले रोकिनु पर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आज बुधबार बसेको बैठकमा बोल्दै माओवादी केन्द्रका सांसद एवम् प्रमुख सचेतक पाण्डेले यस्तो धारणा राख्नुभएको हो ।


भ्रष्टाचारजस्तो कसुरमा कारबाहीका लागि हदम्याद राख्न नहुने अडान राख्दै सांसद पाण्डेले भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकमा भ्रष्टाचारको कसुरमा हदम्याद राखिएको आपत्ति प्रकट गर्नुभयो ।

माओवादी केन्द्रका प्रमुख सचेतक पाण्डेले भ्रष्टाचार रोक्न सरकारले व्यवहारबाटै काम गरेर देखाउन चुनौती दिंदै ‘जनताले आफ्नो जीवन व्यवहारमा भ्रष्टाचार रोकिएको अनुभूति गर्न पाउनुपर्छ । हाल प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक उपर छलफल चलिरहेको छ । २०७६ सालमा संसद्मा दर्ता भएको यस विधेयकको दफा १६ मा संशोधन गर्ने भनेर पाँच वर्षभित्र मुद्दा चलाउने विषय राखेको आएको छ । भ्रष्टाचारजस्तो कसुरमा हदम्याद राखिनु हुन्न मेरो र हाम्रो दल नेकपा (माओवादी केन्द्र) का दृढ मत रहेको छ । यस बारेमा व्यापक छलफलहरू भइराखेका छन्’– भन्नुभयो ।

प्रमुख सचेतक पाण्डेले सहकारी पीडितहरूलाई न्याय दिने काममा विशेष ध्यान दिन सरकारको ध्यानाकर्षण पनि गराउनुभएको थियो ।