शपथ ग्रहण कार्यक्रमको तस्वीर ।
लुम्बिनी, भदौ १२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता यमलाल खनालले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित शपथ कार्यक्रममा प्रदेश प्रमुख कृष्णबहादुर घर्तिमगरको उपस्थितिमा उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश नित्यानन्द पाण्डेयले नवनियुक्त मुख्य न्यायाधिवक्ता खनाललाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।

शपथ ग्रहण समारोहमा मुख्यमन्त्री चेतनारायण आचार्य, सभामुख तुलाराम घर्तिमगर, उपसभामुख मेनुका खाँड केसीलगायत उच्चपदस्थ व्यक्तिहरुको विशेष उपस्थिति थियो ।

मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य, अधिकार र सेवाका अन्य सर्तसम्बन्धी ऐन, २०७५ बमोजिम खनाललाई शपथग्रहण गराइएको थियो । मुख्यमन्त्री आचार्यको सिफारिसमा प्रदेश प्रमुख घर्तिमगरले बुटवल उपमहानगरपालिका–९ निवासी खनाललाई यही भदौ ६ गते मुख्य न्यायाधिवक्तामा नियुक्त गर्नुभएको थियो । नेपालको संविधानको धारा, १६० को उपधारा, २ बमोजिम खनाललाई मुख्य न्यायाधिवक्ता प्रदेश प्रमुखले नियुक्त गर्नुभएको हो ।