फाइल तस्वीर
काठमाडौँ, भदौ १२ गते । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को पदाधिकारीका लागि भएको निर्वाचनको परिणाम सार्वजनिक भएको छ । पार्टी पदाधिकारीका लागि हिजो मङ्गलबार अपरान्ह भएको निर्वाचनको परिणाम सार्वजनिक भएको हो ।

पार्टीको वरिष्ठ उपाध्यक्षमा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री समेत हुनुभएका प्रभावशाली नेता राजेन्द्र पाण्डे हिजै सर्वसम्मत रुपमा चयन हुनुभएको थियो भने अन्यमा निर्वाचन भएको थियो ।

महिला उपाध्यक्षमा जयन्ती राई निर्वाचित हुँदा उहाँकी प्रतिस्पर्धी बन्नुभएकी रामकुमारी झाँक्री पराजित हुनुभएको छ । पाँच जना उपाध्यक्ष रहने व्यवस्था अनुसार महिला कोटाबाट जयन्ती राई, मधेशी कोटाबाट धर्मनाथ साह, खुलाबाट डा.गङ्गालाल तुलाधर, जगन्नाथ खतिवडा, प्रकाश ज्वाला र भानुभक्त जोशी उपाध्यक्षमा निर्वाचित हुनुभएको छ ।

यसैगरी पार्टीको उपमहासचिवमा मेटमणि चौधरी, राजेन्द्र राई, रामकुमार भट्टराई र गरिमा शाह निर्वाचित हुनुभएको भने सचिवमा खुलाबाट शेरबहादुर कुँवर, चन्द्रबहादुर शाही, सोमप्रसाद पाण्डे, सावित्रा भुसाल र श्रीनाथ बराल, दलितबाट गणेशबहादुर विश्वकर्मा र आदिवासी जनजातिबाट बलदेव चौधरी निर्वाचित हुनुभएको छ ।