काठमाडौँ, भदौ ११ गते । सांसदहरूले मन्दिरमा चढाइएको भेटी व्यवस्थापन, गुठीको सम्पत्ति संरक्षण र सदुपयोग हुनुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रियसभाअन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आजको बैठकमा उहाँहरुले भेटीको पारदर्शिताबारे चर्चा गर्र्दै सदुपयोग हुनुपर्नेमा जोड दिनुभएको हो ।

‘विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ क्षेत्र, बौद्ध मेलम्ची घ्याङ गुठीको जग्गाको अवस्था, समस्या र चुनौती, बौद्धनाथ क्षेत्रको पुजारी नियुक्ति, आयआर्जन र भेटी व्यवस्थापन, विविध’ विषयक छलफलमा उहाँहरुले भेटीको सदुपयोग र पारदर्शी व्यवस्थापन हुनुपर्नेमा जोड दिनुभएको हो । गुठीका नाममा रहेको जग्गाको संरक्षरण र व्यवस्थापन गरेर राज्यको सम्पत्तिको सदुपयोग गर्नुपर्नेमा उहाँहरूको जोड थियो ।

समितिका सभापति सोनाम गेल्जेन शेर्पाले विश्व सम्पदा सूचीमा सूचीकृत सबै सम्पदाको सम्पत्तिलाई गुठीमा ल्याउन नसकिएको बताउनुभयो । “गुठीलगायत मन्दिरका भेटीका सन्दर्भमा पारदर्शिता आवश्यक छ । यस विषयमा हामी छलफल गर्दैछौँ”, उहाँले भन्नुभयो ।

समिति सदस्य गोपीबहादुर सार्की आछामीले मन्दिरको भेटी व्यवस्थापन र गुठीको सम्पत्ति संरक्षणसम्बन्धी नीति आवश्यक रहेको बताउनुभयो । “अहिले मन्दिरका पुजारी र विकास समिति सदस्यबीच समन्वय देखिँदैन, आपसी असमझदारी हटाएर अगाडि बढ्नुपर्छ”, उहाँले भन्नुभयो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले गुठीको सम्पत्तिको अभिलेखमा आउनुपर्ने आवश्यकता औँल्याउनुभयो । “हाम्रो धर्म संस्कृतिको सम्पत्ति संरक्षण गरेर मात्र पर्यटकीय विकास गर्न सकिन्छ, यसका संरक्षणका लागि सबैको समन्वय जरुरी छ”, उहाँले भन्नुभयो ।