काठमाडौँ, भदौ ११ गते । सांसद रेखा यादवले पछिल्लो समयमा नेपालको शैक्षिक अवस्था खस्किँदै गएकाले समयानुकूल शिक्षा प्रणाली परिवर्तन गर्नुपर्नेमा जोड दिनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उहाँले भन्नुभयो, “शिक्षाले दिनदिनै अर्थतन्त्र बदलिँदै गएको देखिन्छ, पछिल्लो समयमा एसइई र १२ कक्षाको परीक्षाफलले अभिभावकमा निराशा छाएको छ ।” विद्यालयले अभिभावकबाट अनेक बहानामा आवश्यकताभन्दा बढी शुल्क लिइरहेको तर विद्यार्थी परीक्षाको प्रतिफल कमजोर आएको उहाँको भनाइ थियो ।

सांसद रामप्रकाश चौधरीले पछिल्लो समयमा बाढीपहिरोका कारण देशभर ठूलो जनधनको क्षति भएको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद चित्रबहादुर केसीले भष्ट्राचारीलाई पाँच वर्षे हदम्यादको बारेमा सरकारले स्पष्ट जवाफ दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “भ्रष्टाचारीलाई पाँच वर्षे हदम्यादको विषयलाई दिएर देशैभरीबाट फोन आएको छ, यस बारेमा राज्यले स्पष्ट जवाफ दिनुपर्छ ।” उहाँले भ्रष्टाचार अन्त्य गर्दै जनतालाई सुशासन दिनुपर्नेमा जोड दिनुभयो ।

सांसद प्रेम सुवालले देशभरी भएको सडक दुर्घटना नियन्त्रण गर्न सरकारसँग माग गर्नुभयो । सांसद महेन्द्रकुमार रायले भारतसँगको सीमा क्षेत्रमा देखिएको समस्या समाधान गर्न सरकारसँग अनुरोध गर्नुभयो । सांसद अच्युतप्रसाद मैनाली र सुशीला थिङले मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।