काठमाडौँ, भदौ ११ गते । सांसद् नारायणप्रकाश साउदले नेपाली काङ्ग्रेस र नेकपा (एमाले) बीच सरकार निर्माणका क्रममा भएको संविधान संशोधन गर्ने सहमतिलाई कार्यान्यवन गर्नेतर्फ केन्द्रित हुन सरकारलाई अनुरोध गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसद साउदले भन्नुभयो, “हामीले २०७२ सालमा संविधान ल्याइसकेपछि पटक पटक सरकार परिवर्तन भएका छन्, स्थिरताभन्दा पनि अस्थिरता छाएको छ, यो श्रृङ्खला प्रदेशमा पनि देखिएको छ ।”

संविधान संशोधनका लागि राजनीतिक स्थिरताको आवश्यकता पर्ने बताउँदै संशोधनका लागि विभिन्न पार्टी र पार्टिभित्रका दलहरुबीच, सरकार र प्रतिपक्षबीचमा पनि राष्ट्रिय सहमति हुनुपर्ने उहाँको भनाइ छ । सांसद साउदले महिला, आदिवासी जनजाति, मधेशी, दलित, अपाङ्गता भएका व्यक्तिलगायत सदियौँदेखि उत्पीडनमा पारेको समुदायले पाउँदै आएको अधिकार कमजोर नहुने गरी संविधान संशोधन गर्नुपर्ने बताउनुभयो ।

लोकतन्त्र, समावेशीता, अग्रगमनको सवालमा कसैले कसैलाई दोषारोपण गर्नुपर्ने आवश्यकता नभएको उल्लेख गर्दै सांसद साउदले संविधान संशोधनको सवालमा सबै दलहरु प्रतिबद्ध हुनुपर्ने बताउनुभयो । संविधानभित्र भएका जटिलतालाई समाधान गर्नेबारे प्रतिपक्ष राजनीतिक दलपनि सकारात्मक रुपमा अगाडि बढ्नुपर्ने उहाँको भनाइ थियो ।

यस्तै सांसद रघुजी पन्तले प्रतिपक्षी दलले प्रतिशोध साध्नेभन्दा पनि सकारात्मक ढङ्गबाट सरकारलाई सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले काङ्ग्रेस र एमाले मिलेर सरकार गठन भए पनि सबै दलको सल्लाह, सुझाव र सहमतिको आधारमा संविधान संशोधन गर्नुपर्ने बताउनुभयो ।

“संविधान संशोधनको विषय काङ्ग्रेस र एमालेबीच सरकार गठनको समयमा सहमति हुँदा मात्रै भएको होइन, संविधान संशोधनको विषय त्यो भन्दा अघि नै आमजनता, नागरिक समाजले उठाएको विषय हो, त्यसैले संविधान संशोधनको विषयमा प्रतिपक्षलगायत सम्पूर्ण दलबीच एक मत हुने छ”, उहाँले भन्नुभयो ।