काठमाडौँ, भदौ ११ गते । सांसदहरूले देशमा बढ्दै गएको महङ्गीलगायत आपराधिक घटना नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद भगवती चौधरीले पछिल्लो समय देशमा आपराधिक क्रियाकलाप बढ्दै गएको भन्दै त्यस्ता क्रियाकलाप नियन्त्रणका लागि सरकारसँग अनुरोध गर्नुभयो ।

सांसद महेशकुमार बर्तौलाले चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जलाई एकीकृत पर्यटन पवर्द्धन गर्ने उद्देश्यका साथ कार्ययोजना अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । सांसद माधव सापकोटाले सङ्घमा नयाँ सरकार बनेसँगै प्रदेश सरकार निर्माणमा ढिलाइ भइरहेको जनाउँदै सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो ।

यस्तै, सांसद मीना तामाङले काभ्रेपलाञ्चोकको बनेपा–६ की ममता काफ्लेकोे हालै अमेरिकामा श्रीमानद्वारा हत्या गरिएकाप्रति आपत्ति जनाउँदै दोषीलाई कारबाही हुुनुपर्ने बताउनुभयो । सांसद मेनकाकुमारी पोख्रेलले दाङको घोराही–तुल्सीपुर सडकखण्डअन्तर्गत पर्ने सेवा खोलामा निर्माणाधीन पुलको काममा ढिलाइ भएका कारण जनताले सास्ती भोग्नुपरेको बताउनुभयो । सांसद मैना कार्कीले जाजरकोटमा पछिल्लो समय भूकम्पले सतारहेको उल्लेख गर्दै भूकम्पपीडितका लागि उचित राहतको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो ।

सांसद मङ्गलप्रसाद गुप्ताले कपिलवस्तुका विभिन्न स्थानमा बाढीका कारण जनजीवन कष्टकर भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद योगेन्द्र मण्डलले गत असार महिनामा प्रकाशित माध्यामिक शिक्षा परीक्षा (एसइई) को नतिजा सन्तोषजनक नभएको भन्दै आगामी वर्षमा सुधारका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो ।

सांसद रणकुमारी बलमपाकी मगरले एसइई र १२ कक्षाको परीक्षाफल प्रकाशित भएसँगै देशमा शिक्षाको अवस्था प्रष्ट भएको भन्दै शिक्षा प्रणाली सुधार गर्न सरकार र सरोकारवाला निकाय गम्भीर बन्नुपर्ने धारणा राख्नुभयो । सांसद रणेन्द्र बरालीले पछिल्लो समय देशमा भ्रष्टाचार मौलाउँदै गएको भन्दै त्यसको अन्त्य गर्नुपर्ने माग गर्नुभयो ।

सांसदहरू रामहरि खतिवडा, रोशन कार्की, लक्ष्मी तिवारी, लालवीर चौधरी, लीलादेवी लिम्बू, लीलानाथ श्रेष्ठ, लेखनाथ दाहाल, विक्रम पाण्डे, विजुला रायमाझी, राजेन्द्र बजगाइँ, रुक्मणी राना बराइली, रामकुमार राई र रामकृष्ण यादवले देशमा रहेको भष्टाचार, आपराधिक क्रियाकलाप र महङ्गी अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो ।