लुम्बिनी, भदौ ११ गते । राष्ट्रपति रामचन्द्र पौडेलले पाल्पाको ऐतिहासिक रणउजिरेश्वरी भगवतीको २०५औँ रथजात्रा (खटयात्रा) को आज अवलोकन गर्नुभएको छ । प्रथम महिला सविता पौडेलसहित आज पाल्पा आइपुग्दा उहाँलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वागत गर्नुभएको थियो ।

पाल्पाको ऐतिहासिक रणउजिरेश्वरी भगवती रथजात्रा अवलोकनका लागि पहिलो पटक राष्ट्रप्रमुखका रुपमा राष्ट्रपति पौडेल पाल्पाको तानसेन पुग्नुभएको हो । जात्रामा सहभागी हुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र रक्षामन्त्री मानवीर राईसमेत पाल्पा पुग्नुभएको थियो ।

जात्राको अवलोकनसँगै राष्ट्रपतिले भगवती मन्दिरमा पूजा–आराधना गर्नुभयो । त्यसपछि राष्ट्रपति पौडेलले ‘द फेमस महिन्द्र दल गण’को निरीक्षण गर्नुका साथै पाल्पाका निर्वाचित जनप्रतिनिधिलगायतका सरोकारवाला निकायसँग भेटघाट गर्नुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो । राष्ट्रपति पौडेलले खटयात्राको अवसरमा सबै नेपालीको सुख, शान्ति र कल्याणका लागि शुभकामना दिनुभएको छ ।

प्रेस सल्लाहकार पोखरेलका अनुसार राष्ट्रपति पौडेलले रणउजिरेश्वरी भगवतीको मन्दिर पुरानै शैलीमा तीन तले बनाउन पुरातात्विक विभागले गरेको सिफारिस कार्यान्वयन गर्न सम्बद्ध निकायको ध्यानाकर्षण गराउनुभएको छ । त्यस्तै पाल्पा दरबार र त्यहाँ निर्मित सङ्ग्रहालयसहित समग्र दरबार परिसरलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने तथा त्यसलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने चाहना र प्रयासलाई मूर्तरूप दिन उहाँले सरकारको ध्यानाकर्षण गराउनुभएको छ । राष्ट्रपति पौडेलले रथयात्रालाई अब प्रदेशस्तरीय निर्णयबाट राष्ट्रिय पर्वका रूपमा घोषणा गर्ने सरकारी तयारी चाँडै पूरा हुने विश्वास व्यक्त गर्नुभएको सल्लाहकार पोखरेलले जानकारी दिनुभयो ।