फाइल तस्वीर
महाधिवेश सकिएको करिब दुई महिनापछि एकीकृत समाजवादीले पदाधिकारी र पोलिटब्यूरो सदस्यहरुको लागि निर्वाचन गर्दै
काठमाडौँ, भदौ ११ गते । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को पदाधिकारीका लागि आज निर्वाचन हुँदैछ । गत असारमा सम्पन्न पार्टीको १० औँ महाधिवेश सम्पन्न भएता पनि पदाधिकारीमा सहमति जुट्न नसक्दा झण्डै दुई महिना आज मङ्गलबार १८ जना पदाधिकारीसहित पोलिटब्युरो सदस्यका लागि निर्वाचन हुन लागेको हो ।

पार्टी पदाधिकारीका लागि आकाङ्क्षीहरु धेरै भएका र सहमतिमै पदाधिकारी चयन गर्ने लामो समयसम्मको प्रयास विफल भएपछि निर्वाचनमार्फत् आज पदाधिकारी र पोलिटब्यूरो सदस्यहरु निर्वाचनबाट चुनिने भएका छन् । आज हुने निर्वाचनका मतदाता केन्द्रीय कमिटीका सदस्यहरु हुनेछन् । सहमति जुट्न नसके पार्टी केन्द्रीय कमिटीको बैठक बस्ने र उक्त कमिटीले निर्वाचनमार्फत् पदाधिकारी चयन गर्ने अवधारणा यस अघि नै पार्टीले बनाइसकेको थियो ।

पदाधिकारी र पोलिटब्युरो सदस्यको निर्वाचनका लागि एकीकृत समाजवादीले हिजो सोमबार निर्वाचन तालिकासमेत प्रकाशित गरिसकेको छ । प्रकाशित निर्वाचन तालिका अनुसार आज मङ्गलबार दिउँसो २ बजेदेखि ५ बजेसम्म मतदान हुनेछ । निर्वाचनको मतगणना पनि आजै गरिने र परिणाम पनि आजै आउने बताइएको छ ।

यसअघि पार्टीको महाधिवेशनले पार्टी अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाललाई सर्वसम्मत चयन गरेको थियो । अध्यक्षसहित कुल २१ जना पदाधिकारी रहेको उक्त पार्टीमा आज हुने निर्वाचनबाट एक जना वरिष्ठ उपाध्यक्ष, सात जना उपाध्यक्ष, चार जना उप–महासचिव र सात जना सचिव चयन गरिने भएको छ । निर्वाचनबाट १८ जना पदाधिकारी र ८४ जना पोलिटब्युरो सदस्य चयन हुनेछन् ।

हिजो सोमबार साँझबाट निर्वाचन प्रक्रिया सुरुगरेको एकीकृत समाजवादीले आज बिहान ७ बजे उम्मेदवारको लागि मनोनयन पत्र वितरण गर्ने र साढे ७ बजेदेखि साढे ८ बजेसम्म उम्मेदवारी दर्ता गराउने समय तोकेको छ । उम्मेदवार मनोनयनदेखि दावी विरोधलगायतका सबै काम सकेपछि उम्मेदवारहरुको अन्तिम नामावाली १२ बजेदेखि १ बजेसम्म प्रकाशित गर्ने कार्यतालिका रहेको छ । उम्मेदवारहरुको अन्तिम नामावाली प्रकाशित पश्चात् दिउँसो २ बजेदेखि अपरान्ह ५ बजेसम्म निर्वाचन हुने समय सीमा तोकिएको निर्वाचन कमिटीले मत गणनाको काम साँझ ६ बजेबाट प्रारम्भ हुने जनाएको छ ।