नारायणगढ, भदौ १० गते । खानेपानीमन्त्री प्रदीप यादवले देशैभरि खानेपानीका क्षेत्रमा देखिएका समस्या समाधानका लागि सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभएको छ ।

खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घ नेपालको २२औँ स्थापना दिवसका अवसरमा आज सौराहामा आयोजित ‘खानेपानी तथा सरसफाइ क्षेत्रको सवाल र समाधान’ विषयक राष्ट्रिय गोष्ठीमा मन्त्री यादवले जलवायु परिवर्तनका कारणले गर्दा खानेपानीका स्रोत सुक्दै जाँदा अनेकन समस्या आएको उल्लेख गर्नुभयो । “आज सेता हिमाल काला हुँदैछन्, हिउँ पग्लिएको छ । पहाडमा पानीका मुहान सुक्न थालेका छन् । मधेसमा चुरेको दोहनका कारण चापाकलमा पानी आउँदैन”, उहाँले भन्नुभयो,“चुरे दोहन तथा जलवायु परिवर्तनका कारण पानीका स्रोत सुकेर देखिएका समस्या समाधानका लागि देशभरि नै जलस्रोतकोे अध्ययन गरेर आवश्यक काम गर्न जरुरी छ ।”

आउँदो दिनमा पानीकै लागि विश्वले ठूलो समस्या भोग्नुपर्ने अवस्था सक्ने भन्नुहुँदै मन्त्री यादवले नेपालमा समस्या आउनुअघि नै सजग हुनपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले खानेपानीका लागि बनेका ऐन, नियमावलीमा कुनै समस्या भए समाधान गरेर अगाडि बढ्न सकिने धारणा राख्नुभयो । “ऐन, नियमावलीमा के लेखिएको छ यस कुरालाई लिएर तपाईहरू डराउनुपर्दैन । नियमवाली परिर्वतन नहुने ग्रन्थ होइन, यो परिवर्तन हुने कुरा हो । जनताको हकहितका लागि आवश्यकतानुसार यसलाई परिवर्तन गर्न पर्छ । उपभोक्ता तथा जनताको अहितमा हुने काम सरकारले कहिल्यै गर्दैन र अहित हुने प्रावधान परिवर्तन गर्न सकिन्छ”,मन्त्री यादवको भनाइ थियो ।

उपभोक्ता महासङ्घलाई जनताको घरसम्म पुगेर लाखौँ जनतालाई खानेपानी उपलब्ध गराएकामा धन्यवाद दिनुहुँदै उहाँले खानेपानीमा बिजुलीलगायत छुटको व्यवस्था गर्नुपर्ने बताउनुभयो । मन्त्री यादवले साना उपभोक्ता संस्थालाई काम तथा कार्यक्षेत्रका आधारमा गाभेर अगाडि बढ्नुपर्नेसमेत बताउनुभयो ।

कार्यक्रममा खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक रामकुमार श्रेष्ठले खानेपानी उपभोक्ता समितिले व्यावसायिक उद्देश्य राखेर अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले खानेपानीको अधुरो आयोजना पूरा गर्न विभाग लागेको र जलवायु परिवर्तनलगायत कारणले पानीको स्रोत घट्दै जाँदा यसमा समस्या आएको उल्लेख गर्नुभयो ।

महासङ्घका अध्यक्ष राजेन्द्र अर्यालले खानेपानीमा राज्यले लगाउने कर, बिजुली र इन्धनमा छुटको व्यवस्था गर्नुपर्ने बताउनुभयो । विभिन्न निर्माण तथा मर्मतकार्य गरिँदा वा खानेपानीको पाइप विछ्याउँदा समन्वय हुनपर्ने उहाँको भनाइ छ । महासङ्घले सरकारले गरेका राम्रो निणर्यमा सदैव साथ दिने प्रतिबद्घता व्यक्त गर्नुहुँदै अध्यक्ष अर्यालले सबैसँग सहकार्य गरेर उपभोक्तालाई गुणस्तरीय खानेपानी उपलब्ध गराउन प्रतिबद्ध रहेको बताउनुभयो ।

महासङ्घका उपाध्यक्ष जनक गिरीले खानेपानीको विद्यमान अवस्था, चुनौती र रणनितिका बारेमा प्रस्तुती राख्नुभएको थियो । अधिवक्ता दिलराज खनालले खानेपानी तथा सरसफाइका कानुनी व्यवस्था र उपभोक्ता संस्थाको नीतिगत कुराहरू प्रस्तुत गर्नुभयो । खानेपानी तथा सरसफाइविज्ञ विनोद शर्माले खानेपानी तथा सरसफाइ दिगो विकासका बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

कार्यक्रमम खानेपानी महासङ्घ रत्ननगरका अध्यक्ष माधव अर्याल, चितवन खानेपानी महासङ्घका अध्यक्ष धनराज गुरुङ, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलागयतले बोल्नुभएको थियो । त्यस अवसरमा देशभरबाट खानेपानी तथा सरसफाइको क्षेत्रमा काम गर्ने विभिन्न विधाका चार जना पत्रकारलाई सम्मान गरिएको थियो ।

गोष्ठीमा केन्द्रीय समिति, प्रदेश समिति र जिल्ला समिति गरी दुई सय ५० भन्दा बढी प्रतिनिधिको सहभागिता रहेको थियो ।