फाइल तस्वीर
काठमाडौँ, भदौ १० गते । आगामी साता थाइल्याण्डमा हुने भनिएको छैटौँ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) शिखर सम्मेलन अन्तत स्थगित हुन पुगेको छ ।

भदौको १८ र १९ गते दुई दिनसम्म हुने भनिएको बिमस्टेक शिखर सम्मेलन आयोजक राष्ट्र् थाइल्याण्डमा भएको प्रधानमन्त्री परिर्वतन, बंगलादेशको आन्तरिक राजनीतिक समस्या र श्रीलंकामा प्रधानमन्त्रीका लागि हुन लागेको आसन्न निर्वाचनलगायतका विविध कारणले उक्त शिखर सम्मेलन प्रभावित बन्न पुगेको हो ।

सम्मेलन आयोजक राष्ट्र थाइल्याण्डले बिमस्टेक शिखर सम्मेलन हाललाई स्थगित गरिएको भन्दै सदस्य राष्ट्र्हरूलाई पत्र पठाएर जानकारी गराएको छ । स्थगित भएको सम्मेलन कहिले गर्ने विषयमा भने थाइल्याण्डले केही खुलाएको छैन ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार थाइल्याण्डले तोकिएको समयमा सम्मेलन नहुने भनेर जानकारी गराए पनि सम्मेलन कहिले गर्ने भन्ने विषयमा उल्लेख गरेको छैन । थाइल्याण्डमा हालै भएको सरकार परिवर्तन र राजनीतिक घटनाक्रमका कारण सो सम्मेलन स्थगित भएको जनाइएको छ ।

शिखर सम्मेलनको आयोजक राष्ट्र् थाइल्याण्डका प्रधानमन्त्री स्रेथा थाविसिनलाई अनियमितताको आरोपमा त्यहाँको संवैधानिक अदालतले गत साउन ३० गते दोषी ठहर गर्दै पदमुक्त गरेको थियो । त्यसको भोलिपल्ट पेतोङत्रान सिनावात्रा प्रधानमन्त्रीमा नियुक्त गरेको थियो । उनी प्रधानमन्त्रीमा नियुक्त भएपछि बिमस्टेक बैठक अन्योल थियो । अहिले आएर त्यहाँका सरकारले सम्मेलन स्थगित नै गरेको छ ।

सन् १९९७ मा स्थापना भएको बिमस्टेकमा सन् २००४ मा सदस्य बनेको नेपालसहित बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका र थाइल्याण्ड सदस्य छन् । पछिल्लो समय सार्कको विकल्पको रूपमा बिमस्टेकलाई हेरिएको थियो । सार्क निष्क्रिय रहेको बेला बिमस्टेक सक्रिय भएको थियो ।