फाइल तस्वीरः राष्ट्रियसभाको बैठक ।

काठमाडौँ, भदौ ९ गते । राष्ट्रियसभा सदस्यहरुले तोकिएको समयमा नै पूर्वाधार निर्माण हुनुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा उहाँहरुले ठेकेदारको लापरबाही रोकेर तोकिएकै समयमा पूर्वाधार निर्माण सम्पन्न हुनुपर्नेमा जोड दिनुभएको हो ।

विशेष समयमा बोल्दै राष्ट्रियसभा सदस्य सुमित्रा बिसीले आर्थिक वर्षको अन्तिममा हतारमा काम गर्दा गुणस्तरीय काम हुन नसकेको बताउनुभयो । उहाँले मध्यपहाडी क्षेत्रका नागरिकलाई लाभ पु¥याउने लक्ष्यका साथ मध्यपहाडी राजमार्ग निर्माणको काम अगाडि बढे पनि एक दशकसम्म पनि पुल नबन्दा सुविधा पाउन नसकेको बताउनुभयो । “कालोपत्र भइसके पनि पुल निर्माण हुन नसक्दा आवतजावतमा समस्या भएको छ,” उहाँले भन्नुभयो ।

सांसद रेणु चन्दले बाढी तथा पहिरोका कारण नागरिकको मृत्यु भएको उल्लेख गर्दै सरकारले जोखिम न्यूनीकरण गर्न पर्याप्त तयारी गर्नुपर्ने बताउनुभयो । पूर्वतयारीका लागि लगानी बढाउन उहाँले सरकारलाई सुझाव दिनुभयो ।

सांसद युवराज शर्माले दिगो विकासको लक्ष्य पूरा गर्न सरकारले तत्परता देखाउनुपर्नेमा जोड दिनुभयो । “सरकारले निजी क्षेत्रका माग पूरा गर्ने नीति लिनुपर्छ,” उहाँले भन्नुभयो ।

सांसद उदयबहादुर बोहोराले समयसापेक्ष संविधान संशोधन गर्न आवश्यक रहेको उल्लेख गर्दै तर यसमा साना दललाई पनि समावेश गर्न सरकारलाई सुझाव दिनुभयो । “संविधान संशोधन गर्नुहुँदैन भन्ने होइन्, कुन कुन विषयमा संशोधन गर्ने ? कुन लक्ष्यका साथ गर्ने ? भन्ने विषय महत्वपूर्ण छ,” उहाँले भन्नुभयो, “सबैको सहमतिमा मात्रै संविधान संशोधन हुनुपर्छ ।”

सांसद बामदेव गौतमले हिमताल फुट्दा धेरै धनजनको क्षति हुनसक्ने भन्दै जोखिम न्यूनीकरणका लागि समयमा नै पहल गर्न सरकारसँग माग गर्नुभयो । “हिमताल फ्ट्छ भनेर अध्ययन भइसकेको छ, फ्ट्छ तर नफुट्ने गरी जोखिम न्यूनीकरण गर्न सकिन्छ । फुटे पनि कम क्षति गर्न सकिन्छ,” उहाँले भन्नुभयो, “उपाय खोजौँ । जोखिम भएका बस्तीलाई स्थानान्तरण गरौँ ।”

सांसद भुवनबहादुर सुनुवारले १६औँ पञ्चवर्षीय योजनामा बजेटको व्यवस्था गरेर जातीय विभेद अन्त्य गर्नका लागि सरकारसँग आग्रह गर्नुभयो । “जातीय विभेद अन्त्य हुनु जरुरी छ, यसका लागि सरकारका नीति तथा कार्यक्रममा यी विषयवस्तु प्रथामिकतामा राखिनुपर्छ,” उहाँले भन्नुभयो, “दलित समुदायको हक अधिकार स्थापित गर्न कानुन नै संशोेधन गरिनुपर्छ ।”

सांसद पदमबहादुर परियारले पछिल्लो समयमा संस्कृति बिगार्ने किसिमले बजारमा ल्याइएका तीज गीतले समाजमा विकृति फैलाउने भन्दै नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद नरबहादुर विष्टले कर्णाली प्रदेशमा आगामी मङ्सिरमा हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता समयमै सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले मूल्य वृद्धि नियन्त्रणका लागि सरकारले पहल थाल्नुपर्ने बताउनुभयो ।

सांसद शारदादेवी भट्टले छाउ गोठमा बस्नुपर्ने बाध्यका कारण महिलाको अकालमै ज्यान गएको भन्दै कडाइका साथ छाउप्रथा अन्त्य हुनुपर्ने बताउनुभयो ।