फाइल तस्वीरः राष्ट्रियसभा बैठक ।
काठमाडौँ, भदौ ९ गते । राष्ट्रियसभा सदस्यहरूले मिटरब्याजपीडितलाई न्याय दिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । राष्ट्रियसभाको आज आइतबार बसेको बैठकमा सांसदहरुले मिटरब्याजपीडितलाई न्याय दिन कानुन कार्यान्वयन गर्न जोड दिंदै सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

आजको बैठकको शून्य समयमा बोल्दै राष्ट्रियसभा सदस्य पूजा चौधरीले मिटरब्याजीको कानुन बने पनि न्याय नपाएको भन्दै कानुन कार्यन्वयन हुनुपर्नेमा जोड दिंदै पीडितले छिटो न्याय दिनुपर्ने सांसद चौधरीको माग थियो ।

यसैगरी अर्का सांसद रुक्मणि कोइरालाले तनहुँमा भएको मस्र्याङ्दी नदीमा खसेको भारतीय पर्यटक सवार बस र खोटाङबाट काठमाडौँ आउँदै गरेको गाडी दुर्घटनामा परेको घटनाप्रति दुःख व्यक्त गर्दै उल्लेख गर्दै दुर्घटना न्यूनीकरणका लागि सरकारले विशेष पहल थाल्नुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रियसभाका अर्की सांसद रेणु चन्दले सुदूरपश्चिम क्षेत्रलाई पर्यटकीय क्षेत्र घोषणा गर्नुपर्नेमा जोड दिंदै सुदूरपश्चिमको मुख्य पर्यटकीय गन्तव्य बडिमालिका र त्रिवेणी क्षेत्रमा राम्रो सञ्चार सुविधा, खानेपानीको पहुँच, अन्य पूर्वाधारको विकास गर्न आग्रह गर्नुभयो ।

सांसद विष्णुकुमारी सापकोटाले अभिव्यक्ति स्वतन्त्रताको आडमा बढ्दो छाडापनलाई नियन्त्रण गर्नुपर्नेमा जोड दिनुभयो भने अर्का सांसद विष्णुदेवी पुडासैनीले सडक दुर्घटना न्यूनीकरण गर्न उपाय अवलम्बन गर्न सरकारसँग माग गर्नुभयो ।

सांसद विष्णुबहादुर विश्वकर्माले बूढानीलकण्ठस्थित करुणा अस्पतालमा गत असार ३१ गते दुई शिशुको मृत्यु भएको घट्नाको सत्यतथ्य छानविन गरी पीडितलाई न्याय दिन सरकारसँग माग गर्नुभयो ।

सांसद् कृष्णप्रसाद अधिकारीले देशभर विपद्मा एक सय ९७ जनाको ज्यान गएको भन्दै यसतर्फ सरकार गम्भीर हुनुपर्ने बताउनुभयो ।