फाइल तस्वीर
काठमाडौँ, भदौ ९ गते । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का केन्द्रीय कमिटीका सदस्यहरूले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । पार्टीको आज बसेको केन्द्रीय कमिटीको बैठकमा यसअघि छुटेका केन्द्रीय सदस्यहरूलाई पार्टी अध्यक्ष माधवकुमार नेपालले शपथ गराउनु भएको हो ।

एकीकृत समाजवादीको आज आइतबारदेखि केन्द्रीय कमिटीको पूर्ण बैठक सुरुभएको छ । गत असार तेस्रो साता काठमाडौँमा सम्पन्न पार्टीको १० महाधिवेशन सकिएको झण्डै दुई महिनापछि पार्टीका केन्द्रीय सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ खुवाइएको हो ।

महाधिवेशनको म्याण्डेट अनुसार पार्टीले साउनमा ३ सय ४४ सदस्यीय केन्द्रीय समिति गठन गरेको थियो । पार्टीले स्थायी कमिटी, पोलिटब्युरो र पदाधिकारी चयन गर्न अझै बाँकी छ । पार्टीको पदाधिकारी र स्थायी कमिटीमा जान धेरै आकाङ्क्षीहरु भएकाले एकीकृत समाजवादीले अहिलेसम्म पदाधिकारी, स्थायी कमिटी र पोलिटब्युरो सदस्य चयन गर्न सकेको छैन ।

पार्टीको जारी केन्द्रीय कमिटीको पूर्ण बैठकले पदाधिकारीलगायत सबै कमिटीहरुको सदस्य चयन गर्ने बताइएको छ । पदाधिकारीमा सहमति जुट्न नसके केन्द्रीय कमिटीले निर्वाचनमार्फत् पदाधिकारी चयन गर्ने सम्भावना रहेको छ ।