काठमाडौँ, भदौ ८ गते । नेपाल जाइका अलमनाई एशोसिएशन (जान)ले जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) नेपालका नयाँ प्रमुख प्रतिनिधिलाई स्वागत र निवर्तमान प्रमुख प्रतिनिधिलाई बिदाइ गरेको छ । ‘जान’ले आज यहाँ आयोजना गरेको कार्यक्रममा अध्यक्ष डा रामचन्द्र भुसालले जाइका नेपालका नयाँ प्रमुख प्रतिनिधि मिजुकी मात्सुजाकीलाई स्वागत र निवर्तमान प्रमुख प्रतिनिधि अकिमित्सु ओकुबोलाई बिदाइ गर्नुभयो ।

सो अवसरमा नेपालका लागि जापानका राजदूत युताका किकुताले नेपालको विकासमा जापानको सदैव सहयोग रहँदै आएको उल्लेख गर्दै दुई देशबीचको सम्बन्धलाई प्रगाढ तुल्याउन ‘जान’को भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो । जाइका नेपालका प्रमुख प्रतिनिधि मात्सुजाकीले नेपाल र जापानबीचको सम्बन्ध मजबुद बनाउन ‘जान’ले सेतुको भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।

    ‘जान’का अध्यक्ष डा भुसालले दुई देशबीचको सम्बन्धलाई सुदृढ तथा सांस्कृतिक आदानप्रदानमा संस्थाले लामो समयदेखि काम गर्दै आइरहेको स्पष्ट पार्नुभयो । उहाँले नेपालको विकास प्रयासमा जाइका नेपालका निर्वतमान प्रमुख प्रतिनिधि ओकुबोले अतुलनीय योगदान गर्नुभएको उल्लेख गर्नुभयो ।

    जापान नेपालको विश्वासिलो विकास साझेदारका रुपमा रहेको चर्चा गर्दै अध्यक्ष भुसालले जाइका नेपालका प्रमुख प्रतिनिधि मात्सुजाकीको कार्यकालमा नेपाल–जापान मैत्री सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो । जाइका नेपालका नयाँ प्रमुख प्रतिनिधिधि मात्सुजाकीले विकास नीतिका क्षेत्रमा विशेषज्ञता हासिल गर्नुभएको छ । उहाँसँग जापान सरकारका प्रतिनिधिका रुपमा फिलिपिन्स, अफ्रिकालगायत मुलुक तथा जापानका विभिन्न मन्त्रालयमा लामो समय काम गरेको अनुभव छ । कार्यक्रममा नेपाल सरकारका सचिव गोकर्णमणि दुवाडी, जाइका नेपालका वरिष्ठ प्रतिनिधि, नेपाल सरकारका उच्च अधिकृतलगायतको सहभागिता थियो ।