कास्की, भदौ ८ गते । भैँसीमा पहिलोपटक उन्नत जातको नश्ल सुधारका लागि भारतबाट ल्याइएका मुर्रा राँगाबाट वीर्य सङ्कलन गरी वितरण सुरु भएको छ । पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)को भारत भ्रमणका क्रममा भारतले नेपाललाई उपहार स्वरुप प्रदान गरेको राँगामध्ये सात पोखरास्थित राष्ट्रिय पशु प्रजनन् कार्यालयमा ल्याइएको थियो ।

यहाँ रहेकामध्ये एक वटाबाट वीर्य सङ्कलन गरेर कृत्रिम गर्भाधानका लागि वितरण गरिएको कार्यालयका प्रमुख पशु विकास अधिकृत डा जगदिश पाण्डेले जानकारी दिनुभयो । बाँकी राँगाबाट वीर्य सङ्कलनका लागि सिकाइएको चरणमा रहेको अबको दुइदेखि तीन महिनामा सबैबाट सङ्कलन हुने उहाँले बताउनुभयो ।

प्रमुख पशु विकास अधिकृत पाण्डेले भन्नुभयो, “क्वारेन्टिन, उमेर, सिकाइलगायत सबै प्रक्रिया पूरा गरेर मात्र सिमेन सङ्कलन र गुणस्तर परीक्षणपछि मात्र वितरणको काम हुन्छ । अहिले एउटाबाट सङ्कलन भएको तीनदेखि पाँच हजार डोज वितरण गरेका छौँ । बाँकी राँगा ट्रेनिङमा नै छन् ।”

कार्यालयका अनुसार वर्षमा एउटा राँगाबाट २० हजारदेखी ३० हजार डोज सिमेन उत्पादन हुनेछ । हप्तामा सोमबार र बिहीबार वीर्य सङ्कलन हुँदै आएको छ । एक हप्तामा एउटाबाट चार सय डोज जति सङ्कलन हुने कार्यालयका सूचना अधिकारी एवं वरिष्ठ पशु विकास अधिकृत भरतराज गौतमले बताउनुभयो ।

“हामीले यहाँ ल्याएर सुरुमा २१ दिन क्वारेन्टिमा राख्यौँ । कतिपयको उमेर पुग्न बाँकी थियो । उमेर पुगेपछि बल्ल सङ्कलन गछौँ ।” डा गौतमले भन्नुभयो, “सङ्कलन गर्ने वित्तिकै वितरण गर्न हुँदैन, गुणस्तर परीक्षण गरेर ठीक छ भनेपछि मात्र कृत्रिम गर्भाधानकर्तामार्फत भैँसीको नश्ल सुधार गरिन्छ ।” कार्यालयले सङ्कलित वीर्य आफ्नो वितरण रुटमार्फत जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, स्थानीय पालिका र कृत्रिम गर्भाधानकर्तामार्फत कृषकलाई उपलव्ध गराउँदै आएको छ ।

राष्ट्रिय पशु प्रजनन् कार्यालय पोखराको कार्यक्षेत्र रहेका बागमती, गण्डकी र लुम्बिनी प्रदेशका ३१ जिल्लामा कृत्रिम गर्भाधानका लागि कृषकलाई वितरण गरिने वरिष्ठ पशु विकास अधिकृत डा गौतमले बताउनुभयो । कृषि तथा पशुपंक्षीको क्षेत्रमा दुई देशबीचको सहकार्य अनुरुप नेपालको अनुरोधमा भारतले राँगा उपलव्ध गराएको थियो । भैँसीमा पहिलोपटक उन्नत जातको नश्ल सुधारका लागि भारतबाट १५ राँगा ल्याइएको थियो । पशु चिकित्सकका अनुसार उच्च नश्लका मुर्रा भैँसीहरूले रैथाने भैँसीभन्दा दोब्बर परिमाणमा दूध दिन्छन् । सरकारले यहाँका रैथाने भैँसीमा नश्ल सुधार गर्न भारतबाट राँगा ल्याएको हो । नेपाल ल्याइएका मुर्रामध्ये सात वटा पोखरा, पाँच वटा लहान र तीन नेपालगञ्जमा राखिएको छ ।